• काठमाडौं : अमेरिकी नागरिक पिटर किम विगत करिब १५ वर्षदेखि नेपालमा विभिन्न सामाजिक तथा मानवीय सेवामा सक्रिय रूपमा संलग्न रहँदै आएका व्यक्तिका रूपमा चिनिन्छन्।

    यसैगरी, करिब ३५ वर्षअघि अमेरिकी नागरिक चुङ्सिम ली (Chungsim Lee) स्वयंसेवी नर्सका रूपमा ललितपुरस्थित पाटन अस्पतालमा सेवा गर्न नेपाल आएकी थिइन्। सोही क्रममा उनको भेट नेपाली नागरिक लोकमणि भण्डारीसँग भयो र पछि उनीहरू वैवाहिक सम्बन्धमा बाँधिए। त्यसपछि उनले नेपाली नागरिकता प्राप्त गरी नेपालमै स्थायी रूपमा बसोबास गर्न थालिन्।

    चुङ्सिम लीले आफ्नो जीवन सामाजिक सेवामा समर्पित गर्दै नेपालका विभिन्न जिल्लाका असहाय तथा टुहुरा बालबालिकाको पालनपोषण, शिक्षा, स्वास्थ्य र संरक्षणमा उल्लेखनीय योगदान दिएकी थिइन्। यस कार्यमा पिटर किमले अमेरिकाबाट निरन्तर आर्थिक तथा नैतिक सहयोग प्रदान गर्दै आएका थिए।

    पछि चुङ्सिम ली क्यान्सर रोगबाट पीडित भएपछि पिटर किम नेपालमै आएर उनको उपचार तथा हेरचाहमा सक्रिय भए। सन् २०२२ मा चुङ्सिम लीको निधन भएपछि उनले उनको अधुरो समाजसेवी अभियानलाई निरन्तरता दिएका छन्।

    नेपालमा बसोबासकै क्रममा पिटर किमले नीलम बर्देवासँग विवाह गरेका छन्। हाल उनीहरूको तीन वर्षीया छोरी र छ महिनाको छोरा छन्। आफ्ना सन्तानसँगै उनले विभिन्न दुर्गम जिल्लाका असहाय तथा टुहुरा बालबालिकाको संरक्षण, शिक्षा र पालनपोषणमा समेत योगदान दिँदै आएको बताइन्छ।

    तर हाल पिटर किममाथि केही आरोप लगाइएपछि उनलाई बनेपा प्रहरीले नियन्त्रणमा लिई अध्यागमन विभागमा बुझाएको र उनलाई अमेरिका फिर्ता (Deportation) गर्ने प्रक्रिया अघि बढाइएको भन्ने जानकारी सार्वजनिक भएको छ। यदि उनीमाथि लगाइएका आरोपहरू सत्य हुन् भने कानुनअनुसार निष्पक्ष कारबाही हुनुपर्छ। तर यदि ती आरोपहरू आधारहीन वा झुटा हुन् भने निष्पक्ष अनुसन्धान गरी न्याय सुनिश्चित गरिनु आवश्यक छ।

    किमलाई सामान्य उजुरीको आधारमा अध्यागमन विभागले २०२७/०३/१६ सम्म को वैवाहिक भिषा हुँदा हुँदै भिषा रद्द गरी हतार हतारमा डिपोर्ट गरी १० बर्ष नेपाल आउन नदिन ठूलो चलखेल भएको प्रष्ट देखिन्छ। जबकि एक महिना अगाडि अवैध विधुतीय कारोबार गरी विना भिषा बसेका ८ जना चीनीया नागरिकलाई हिजो मात्र सिचुवान एयरलाइन्स मार्फत छेन्दू पठाउने काम भएको छ।

    यस घटनापछि उनकी श्रीमती नीलम बर्देवा आफ्नो सानो छोरी र छ महिनाको शिशुसहित सम्बन्धित निकायहरूमा धाउँदै पिटर किमको रिहाइ तथा निष्पक्ष न्यायको माग गरिरहेकी छन् भन्ने जानकारी प्राप्त भएको छ। विगत ८ दिनदेखि निलम बर्देवा आफ्नी दुई वर्षीया छोरी र ६ महिनाको छोरालाई काखमा च्यापेर दैनिक काभ्रेपलाञ्चोकबाट साढे दुई घण्टाको यात्रा गरी अध्यागमन विभाग अगाडि हारगुहार गरिरहेकी छन्।

    आफ्नो पीडा पोख्दै उनले भनिन्, ‘मेरो ७१ वर्षीय श्रीमान् विगत १५/१६ वर्षदेखि अमेरिकामा रहँदा जोडेको सबै सम्पत्ति लिएर नेपाल आउनुभएको थियो। तर, गाउँका केही गुण्डाहरूको षड्यन्त्रमा परेर कुनै ठोस कारणविना नै उहाँलाई अमेरिका देशनिकाला गर्ने तयारी भइरहेको छ। यसो भएमा म, मेरा दुई साना बालबच्चा र हाम्रो संरक्षणमा रहेका, कुनै आफन्त नभएका २४ जना दलित बालबालिकाहरूको बिजोग हुनेछ।’ आफ्ना श्रीमान्लाई देशनिकाला गरिएमा दुवै बच्चासहित अध्यागमनअगाडि नै आत्मदाह गर्ने चेतावनी दिँदै उनी भक्कानिएर रोइरहेकी छन्।

    यसत घटनाहरुले नेपालमा लामो समयदेखि सामाजिक सेवा तथा व्यवसायमा संलग्न विदेशी नागरिकहरूको कानुनी सुरक्षा, अध्यागमन प्रशासनको कार्यशैली तथा मानवअधिकारको संरक्षण सम्बन्धी विषयमा गम्भीर प्रश्न उठाएको छ। यदि कुनै विदेशी नागरिकले नेपालको कानुन उल्लङ्घन गरेको छ भने कानुनबमोजिम निष्पक्ष कारबाही हुनुपर्छ। तर आरोपमात्रका आधारमा पर्याप्त अनुसन्धानबिना कुनै निर्णय गरिनु हुँदैन भन्ने सिद्धान्त पनि उत्तिकै महत्वपूर्ण छ।

    विगतका सरकारहरूको राजनीतिक शक्ति र पहुँचका आधारमा अध्यागमन विभागमा पदस्थापन भएका महानिर्देशक रामचन्द्र तिवारी र टीकाराम ढकालसहितका कर्मचारीहरूको स्वेच्छाचारी व्यवहारका कारण नेपाल आउने विदेशी नागरिकहरूले अनावश्यक सास्ती भोग्नुपरेको छ।

    स्रोतका अनुसार पछिल्लो राजनीतिक परिवर्तनपछि अन्य सरकारी निकायहरूमा सुधारको सङ्केत देखिए पनि अध्यागमन विभागभित्र भने बेथिति झन् मौलाएको छ। गृह मन्त्रालयको फितलो अनुगमनको फाइदा उठाउँदै महानिर्देशक तिवारीको प्रत्यक्ष निर्देशनमा हजारौँ विदेशी नागरिकहरूलाई विभिन्न आरोप तथा लाञ्छना लगाएर द्रुत गतिमा देशनिकाला गर्ने कार्य भइरहेको छ।

    अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीनिकट मानिने केही कर्मचारीहरूले उनका आफन्तरश्रीमतीको नाममा ट्राभल एजेन्सी सञ्चालन गरी अनियमिता गरिरहेको पाइएको छ।

    स्रोतका अनुसार देशनिकाला (Deportation) मा पर्न लागेका विदेशी नागरिकहरूलाई ‘हाम्रो ट्राभल एजेन्सीबाट टिकट नकिने १० वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी फर्काइदिने’ भन्दै डर-त्रास र धम्की दिने गरिएको छ। यसरी अनुचित दबाब दिएर उनीहरूलाई जबरजस्ती सोही एजेन्सीमार्फत महँगो मूल्यमा हवाइ टिकट किन्न बाध्य पारिएको दाबी गरिएको छ।