• काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मन्त्रालयले १ भदौमा दिएको निर्देशन अनुसार पर्यटन विभागले सगरमाथामा सम्पर्क अधिकृतमा रुपमा खटाए पनि काममा नगएका १५ जना कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ ।

    काममा खटाए पनि सम्बन्धित स्थानमा नपुग्ने कर्मचारीमाथि कारवाही प्रक्रिया अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मन्त्री योगेश भट्टराईले चासो दिएका थिए । खटिएको स्थानमा नपुग्ने १५ जना सम्पर्क अधिकृतसँग आफ्नो जिम्मवारी निर्वाह गर्न नसक्नुको प्रमाण पुग्ने विवरण र स्पष्टीकरण बुझाउन आग्रह गरेको छ ।

    १५ दिनभित्र स्पष्टीकरण बुझाउन विभागले समयसीमा तोकेको छ । यस अवधिमा स्पष्टीकरण नबुझाउने सम्पर्क अधिकृतमाथि कारवाही प्रक्रिया शुरु गरिने विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिएकी छिन् । उनकाअनुसार वसन्त ऋतुमा ३७ जना सम्पर्क अधिकृतलाई सगरमाथामा खटाइएको थियो । उनीहमध्ये २२ जना मात्र सम्पर्क अधिकृत सगरमाथामा पुगेका थिए ।

    १५ जना सम्पर्क अधिकृत भने तोकिएको स्थान मै नपुगि पारिश्रमिक तथा भत्ता बुझेका छन् ।