• काठमाडौं ।

    त्रिभुवन विश्वविद्यालयमा स्वर्ण पदक बिक्री भएको र सेवा आयोगका अध्यक्ष चैतन्य शर्मासहित १० जना प्राध्यापक र कर्मचारीले आफन्तलाई जागिर खुवाउन अंक नै हेरफेर गरेको काण्ड सेलाउनै नपाउँदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर राजकुमार रौनियार बिहीबार भवन निर्माणको ठेक्काको कमिसनवापत ८ लाख रुपैयाँ घूस लिंदै गर्दा समातिए ।
    त्रिविकै विज्ञान तथा प्रविधि संकायका सहायक डिन शम्भुप्रसाद पटेलले सम्बन्धन नवीकरण गरिदिन एक निजी कलेज सञ्चालकबाट ५० हजार रूपियाँ घूस लिँदै गर्दा समातिए ।

    यी घटनाले विद्यार्थी भर्ना र सिट निर्धारणदेखि सम्बन्धनमा लेनदेन हुने गरेको विगतदेखिकै चर्चालाइ पुष्टि गरेको छ ।
    प्राज्ञिक थलोमा राजनीतिक, पारिवारिक र आर्थिक सम्बन्धका आधारमा पदाधिकारी नियुक्त गर्नु, त्यसमा सबै शक्तिकेन्द्रले भागबन्डा गर्नु संस्कृतिजस्तै बनेको छ । नैतिकता, आदर्श र सुशासनका पाठ पढाउने संस्थामै नैतिकरूपमा कमजोर पात्रहरू पुग्दाको परिणाम के हुन्छ, क्रमिक रूपमा छताछुल्ल हुँदै छ ।