सुरक्षाकर्मी दुरुपयोग गर्दै चाकडीमा शसस्त्र प्रहरी प्रमुख

सशस्त्र प्रहरीको दुरुपयोग गरी नेतादेखि ब्यापारी, ठेकेदार र बीचौलियाको घर घरमा सुरक्षाकर्मी र चालक पठाउने खनालले गर्दा नेपाल प्रहरीलाई पनि समस्या परेको छ । प्रहरीका एक अधिकारीको दुखेसो छ –‘प्रधानमन्त्रीको निर्देशन अनुसार नियमविपरीत दिइएका सुरक्षाकर्मी फिर्ता लिइयो । तर हामीले फिर्ता गरेको भोलिपल्टै सशस्त्रले दिएपछि संवैधानिक निकायका पदाधिकारीहरु प्रहरीसँग रुष्ट भए । एउटा निकायले फिर्ता गर्ने अर्को निकायले दिने हुनुभएन । आखिर दुवै सुरक्षा निकायमध्ये जहाँबाट दिए पनि सरकारी स्रोतको दुरुपयोग नै हो ।’


  • काठमाडौं ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन अनुसार नेपाल प्रहरीले भीआईपी र उच्च सुरक्षा निकायका अधिकारीका घरमा नियमविपरीत रहेका सयौं सुरक्षाकर्मी फिर्ता ग¥यो । भीआइपीको सुरक्षा व्यवस्थाका लागि बनाइएको कार्यविधिविपरीत राजनीतिक दलका नेतादेखि ब्यापारीसम्मलाई दिएका सुरक्षाकर्मी र सवारी चालक प्रहरीले फिर्ता गर्न सुरु ग¥यो । तर सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनालले प्रहरीले सुरक्षाकर्मी फिर्ता गरेका भीआइपीहरुको घरघरमा जाने र आफूले पठाउने भन्दै चाकरी गर्न थालेका छन् ।

    सशस्त्रका आइजीपी खनालले नेपाला प्रहरीको सुरक्षा लिने संबैधानिक निकाय पदाधिकारीदेखि नेताहरुकोमा पनि ‘प्रहरीले फिर्ता गरेछ, म सशस्त्रबाट पठाउँछु’ भन्दै सुरक्षाकर्मी र सवारी चालकसमेत दिन थालेका छन् । सशस्त्रको आइजीपी सचिवालयमा काजमा तान्दै उनले नेता, संवैधानिक निकायका पदाधिकारी र शक्तिकेन्द्रमा सुरक्षाकर्मी उपलब्ध गराउन थालेका छन् ।

    मुख्यमन्त्रीहरूले प्रदेशमा सुरक्षाकर्मी अभाव भएको गुनासो गरेपछि प्रधानमन्त्री ओलीले २०७४ चैत ७ मा भीआईपीका सुरक्षाकर्मी फिर्ता गर्न निर्देशन दिएका थिए । तर प्रधानमन्त्रीको निर्देशनको पालना गर्दै प्रहरीले सुरक्षाकर्मी फिर्ता गर्ने तर सशस्त्रले दिने गरेको छ । सशस्त्र प्रहरी बलका आइजीपी खनालले नेपाल प्रहरीले सुरक्षाकर्मी फिर्ता गरेको थाहा पाउनासाथ चाकरी गर्न पुग्ने र भोलिपल्टै पठाउने गरेका छन् ।

    सशस्त्र प्रहरीको गठन बडीगार्डका रुपमा नेता वा ब्यापारी ठेकेदारको घरमा सुरक्षा गर्नका लागि गठन भएको होइन, अर्धसैनिक बल हो । तर शैलेन्द्र खनालले यसलाई अर्धसैैनिक बलको रुपमा होइन, निजी सेक्युरिटी कम्पनी जस्तै बनाएका छन् । सशस्त्र प्रहरी सुरक्षा निकाय हो । त्यसका आफ्नै नीति नियम छन् । ती नीति नियमभित्र रहेर सशस्त्र प्रहरी परिचालन गर्नुपर्ने हो । तर सशस्त्रका आइजीपी खनालले प्रहरीले नियम विपरीत भनेर सुरक्षाकर्मी फिर्ता गरिएकाहरुको घर घरमा तुरुन्त पठाउन तल्लीन छन् ।

    सशस्त्र आइजीपी खनालले उनका साढु स्वच्छन्द निर्माण सेवाका संचालक जयराम लामिछानेलाई सवारी चालक र पीएसओ दिएका छन् । लामिछाने निर्माण ब्यवसायी महासंघका पूर्वअध्यक्ष पनि हुन् । फोर्सको दुरुपयोग गर्दै ठेकेदार लामिछानेलाई उनले सुरक्षाकर्मी र चालक उपलब्ध गराएको स्रोतले बताएको छ ।

    त्यसैगरी, ब्यापारी उपेन्द्र महतोलाई नेपाल प्रहरीले दिएको सुरक्षाकर्मी उनलाई कुनै थ्रेट नभएकाले फिर्ता ग¥यो । तर पावर ब्रोकरका रुपमा चिनिने महतोलाई आइजीपी खनालले तुरुन्तै सशस्त्र प्रहरीबाट गार्ड र ड्राइभर पठाइदिएका छन् । विवादास्पद कांग्रेस सांसद अमरेशकुमार सिंहलाई उनले फेरि सुरक्षाकर्मी दिएका छन् । यसअघि धेरै विवाद भएपछि उनले फिर्ता लिएका थिए । अहिले पुनः पठाइसकेका छन् । त्यसका अलावा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, डा। प्रकाशशरण महतलाई पनि सुरक्षाकर्मी र चालक दिइरहेका छन् ।

    सशस्त्र प्रहरी संगठनका सयौं सुरक्षाकर्मी र सवारी चालकहरुलाई खनालले आइजीपी सचिवालयमा काजमा राखी नेता र भीआइपीहरुको चाकरीमा पठाउने गरेका छन् । स्रोतका अनुसार सचिवालयमा काजमा राखिएका सशस्त्र प्रहरीको विवरण माग्ने हो भने सुरक्षाकर्मी कसरी दुरुपयोग गरिएको छ भन्ने छर्लङ्ग हुनेछ । रेकर्डमा नदेखाई उनले नेतादेखि विभिन्न ब्यक्तिलाई नियमविपरीत सुरक्षाकर्मी र चालक दिने गरेको स्रोतको दाबी छ ।

    सशस्त्र प्रहरीको दुरुपयोग गरी नेतादेखि ब्यापारी, ठेकेदार र बीचौलियाको घर घरमा सुरक्षाकर्मी र चालक पठाउने खनालले गर्दा नेपाल प्रहरीलाई पनि समस्या परेको छ । प्रहरीका एक अधिकारीको दुखेसो छ –‘प्रधानमन्त्रीको निर्देशन अनुसार नियमविपरीत दिइएका सुरक्षाकर्मी फिर्ता लिइयो । तर हामीले फिर्ता गरेको भोलिपल्टै सशस्त्रले दिएपछि संवैधानिक निकायका पदाधिकारीहरु प्रहरीसँग रुष्ट भए । एउटा निकायले फिर्ता गर्ने अर्को निकायले दिने हुनुभएन । आखिर दुवै सुरक्षा निकायमध्ये जहाँबाट दिए पनि सरकारी स्रोतको दुरुपयोग नै हो ।’ साँघु साप्ताहिकबाट ।