‘पहाडमा जन्मिएर मधेशको सेवा’

प्रत्येक महिना मेयर र प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा वडा कार्यालयहरुमा जनताको गुनासो सुन्ने चलनको विकास यो नगरपालिकाले गरेको छ । वडालाई छुट्याईएको बजेट विकास निर्माणमा लगाउन वडाध्यक्षलाई स्वतन्त्रता छ । प्रत्येक वडाले विकास निर्माणको कुल बजेटको ५ प्रतिशत सामाजिक कामका लागि छुट्याउनु पर्ने नियम बसालिएको छ । हरिवन नगरपालिकामा ११ वडा छन् । नगरपालिकाले कुल बजेटको ३७.८५ प्रतिशत रकम सामाजिक विकासमा खर्च गर्ने गरेको छ । मुस्कान सहितको सेवालाई मूल नारा बनाएको हरिवन नगरपालिकाको परिचय पारदर्शिता पनि बनेको छ । अनलाईन प्रविधिलाई विकास निर्माणसँग जोडेको यस नगरपालिकाको विकास निर्माणको काम अनलाईनले प्रत्यक्ष निगरानी गर्छ र सवै जनतालाई पारदर्शी ढंगले अनलाईनबाटै जानकारी गराईन्छ ।


  • पहाडी जिल्ला स्याङ्जामा जन्मिएर उतै हुर्किएका उपसचिव टिकाराम ढकालले मधेसलाई कर्मथलो बनाएको दुई बर्ष भन्दा धेरै भयो । सर्लाही जिल्लाको हरिवन नगरपालिकाका कार्यकारी निर्देशक ढकाल अहिले समग्र प्रदेश दुईलाई समृद्ध बनाउने अभियानमा छन् । प्रदेश दुईमा जनप्रतिनिधि र कर्मचारीविच तालमेल हुन नसक्दा धेरै स्थानीय निकायले विकासमा फड्को मार्न सकेको देखिँदैन । जनप्रतिनिधि जनतासँग गरेका प्रतिवद्धता पूरा गर्न चाहन्छन्,जनप्रतिनिधिले गरेका प्रतिबद्धतालाई कार्यान्वयनमा ल्याउन कर्मचारीले समन्यात्मक भूमिका खेल्नु पर्ने उपसचिव ढकालको तर्क छ । कर्मचारीको समन्वयात्मक भूमिका स्थानीय निकायमा अपरिहार्य रहेको ढकाल बताउँछन् । प्रदेश दुईमा स्थानीय तहको दरवन्दी अनुसार कर्मचारी नहुँदा पनि समस्या परेको ढकालले बताए । ‘भएका कर्मचारीलाई काम धेरै छ’, ढकालले भने– ‘देश सघीयतामा गए पछि जनप्रतिनिधि र कर्मचारीको काम,कर्तव्य र जिम्मेवारी पनि बढेको छ ।’
    प्रदेश दुईका धेरै नगरपालिका र गाउँपालिकाहरुमा जनप्रतिनिधि र कर्मचारीवीच तालमेल हुन नसक्दा विकासको काम प्रभावित बन्ने गरेको यथार्थ लुकाउन चाहेनन् ढकालले । ‘जनतासँग जनप्रतिनिधिले प्रतिवद्धता धेरै गरेकाछन्, कर्मचारीले पनि नियम, विधि, कानून, पद्धति अवलम्बन गर्नै पर्छ, खासमा जनप्रतिनिधि र कर्मचारीबीच समन्वय हुन नसक्दा प्रदेश दुईमा समस्या देखिएको छ,’ ढकालको अनुभव यस्तो छ । उनी आफू भने जनप्रतिनिधिसँग काँधमा काँध मिलाएर अघि बढेका छन् । कर्मचारी र जनप्रतिनिधिबीच सुमधुर सम्बन्ध छ हरिवन नगरपालिकामा । जनप्रतिनिधि र कर्मचारीबीचको सुमधुर सम्बन्धकै कारण पनि हरिवन नगरपालिकाले विकासमा तीब्रता दिएको छ । नगरप्रमुख गणेश प्रसाँई र प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालको मात्रै नभएर सवै वडाध्यक्ष र वडाका सचिवहरुको सम्बन्ध सुमधुर भएकाले पनि नगरको विकास निर्माणले गति लिएको बताउँनेहरु धेरै छन् । प्रत्येक महिना मेयर र प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा वडा कार्यालयहरुमा जनताको गुनासो सुन्ने चलनको विकास यो नगरपालिकाले गरेको छ । वडालाई छुट्याईएको बजेट विकास निर्माणमा लगाउन वडाध्यक्षलाई स्वतन्त्रता छ । प्रत्येक वडाले विकास निर्माणको कुल बजेटको ५ प्रतिशत सामाजिक कामका लागि छुट्याउनु पर्ने नियम बसालिएको छ । हरिवन नगरपालिकामा ११ वडा छन् । नगरपालिकाले कुल बजेटको ३७.८५ प्रतिशत रकम सामाजिक विकासमा खर्च गर्ने गरेको छ । मुस्कान सहितको सेवालाई मूल नारा बनाएको हरिवन नगरपालिकाको परिचय पारदर्शिता पनि बनेको छ । अनलाईन प्रविधिलाई विकास निर्माणसँग जोडेको यस नगरपालिकाको विकास निर्माणको काम अनलाईनले प्रत्यक्ष निगरानी गर्छ र सवै जनतालाई पारदर्शी ढंगले अनलाईनबाटै जानकारी गराईन्छ । ‘भ्रष्टचारमा शून्य सहनसीलता हरिवन नगरपालिकाको अर्को नारा हो’– प्रमुख प्रशासकीय अधिकृत ढकालले थपे, ‘यो सवै जनप्रतिनिधि र कर्मचारीको समन्वयकै कारण सम्भव भएको हो ।’


    सामूहिक पहलमा अहिले नगरको सडक विस्तारसँगै शिक्षा,कृषि, खानेपानी,रोजगार र सामाजिक विकासको क्षेत्रमा आमूल परिवर्तन आएको ढकाल बताउँछन् ।


    ‘योजना बनाउँदा यस नगरपालिकामा राजनीतिक पूर्वाग्रह राखिँदैन । योजना कार्यन्वयनमा ल्याउन बनाईने उपभोक्ता समितिहरुमा पनि भरसक सबै दललाई समेट्ने गरिएको छ । यसले गुणस्तरीय विकास निर्माण गर्न सजिलो भएको छ’– ढकालले भने । नगरपालिकामा ६४ जना कर्मचारी कार्यरत छन् अहिले । धेरै पद त रिक्त छ । मेयर र प्रमुख प्रशासकीय अधिकृत सवै पदमा कर्मचारी ल्याउने पहलमा जुटेका छन् । केही करार र ज्यालादारीमा कर्मचारी राखिएको छ । अवको पदपूर्ति प्रादेशिक लोक सेवा आयोगले गर्ने छ, नगरपालिकाले कर्मचारीको माग प्रदेश सरकारलाई पठाएको छ । विभागीय मन्त्री र सचिवले ‘फाष्ट ट्रयाक’ बाट कर्मचारी भर्ना गर्ने बताएका छन् । हरिवन नगरपालिकाको अर्को ठूलो उपलब्धि कानून निर्माण पनि हो । २७ ओटा कानून निर्माण गरेर कार्यान्वयनमै ल्याईएको छ । सिंहदरवारको अधिकार गाउँमा आयो भनेकाले जनता कार्यालयमा आउने होईन, जनप्रतिनिधि र कर्मचारी जनताको घर दैलोमै गएर सेवा दिनु पर्छ भन्ने मान्यता यहाँको छ । ढकाल भन्छन्–‘सेवा दिन जनप्रतिनिधि र कर्मचारी जनताको घर दैलोमा पुग्ने परिपाटीको विकास गर्न पनि जनप्रतिनिधि र कर्मचारीको सहकार्यको एउटा अर्को नमुना हो ।’


    पहाडको मान्छे मधेशको सेवा


    २०३९ साल असोज ३० गते जन्मिएका ढकाल लोकसेवा बाटै सरकारी जागीरमा प्रवेश गरेका हुन् । साविक फापरथुम ४ जहाँ टोपी खस्ने भीर भएको ठाउँमा हुर्केर सरकारी बिद्यालय अध्ययन गरेका ब्यक्ति हुन् उनी । विद्यालय पुग्न उनको घरबाट डेढ घण्टा हिँड्नु पथ्र्यो । बाटोको माझमा पर्ने आँधिखोला तर्दा लगाईएको हापपाईन्ट निथ्रुक्क भिज्थे । भिजेकै हापपाईन्ट लगाएर पढ्थे अनि पुनः डेढ घण्टा उकाली ओराली छिचोल्दै घर आई पुग्थे । एसएलसीसम्मको अध्ययन भने उनले प्रधुम्न पनेरु माविबाट गरे । यो विद्यालय पुग्न पनि उनले डेढ घण्टा पैदल हिँड्नु पथ्र्यो । उनी बिद्यालयमा कहिल्यै दोस्रो भएनन् ।

    एसएलसी पास गर्दा जिल्ला टपनै भए । साधारण किसान परिवारका ढकालको परिवारलाई खेतवारीमा उब्जने अन्नले खान पुग्थ्यो । आईए पास गरेका उनका बुवा गंगाप्रसाद ढकाल बिए पास गर्न नसकेकोमा पश्चताप मानिरहन्थे र आफ्ना छोराछोरीलाई पढ्न प्रोत्साहान गरिरहन्थे । छोराछोरीको पढाईलाई सहज बनाउनकै लागि उनले कतै पनि जागिर खाएनन् । ५ कक्षामा पढ्दा बुवाले शर्त राखे, ६ कक्षामा प्रथम भईस भने तँलाई जुत्ता किनिदिन्छु । सवै कक्षामा प्रथम हुँदै आएका उनी प्रथम भएरै बुवाको हात बाट जुत्ता पुरस्कार पाए ।
    र, जुत्ता लगाएर स्कुल जाने मध्येमा पर्न थाले । भिनाजुहरु सवै निजामती कर्मचारी भएकाले पनि सानैमा लोकसेवामा नाम निकालेर सरकारी जागिर खानु पर्छ भन्ने कुराले उनको मष्तिष्कमा जरा गाडेको थियो । त्यसैले एसएलसी परिक्षा दिईसके पछि विदाको समयमा गाईबाख्रा चराउँदै उनले सविंधानका सबै धारा उपधारा कण्ठ गरेका थिए । विशिष्ट श्रेणीमा एसएलसी पास गरे पछि उनी उच्च शिक्षाका लागि पोखरा झरे ।

    पृथ्विनारायण क्याम्पसमा साईन्स र ईञ्जिनियरिगं लिएर भर्ना भए । साथीहरुसँग कोठा भाडा लिएर पोखरामा क्याम्पस पढ्न थालेका उनले २८ हजार रुपैयाँमा पहिलो बर्ष सकेका थिए । दोस्रो बर्षका लागि उनको २६ हजार रुपैयाँ सकियो । आफूले स्नातक पास गर्न नपाएकोमा पश्चताप मानिरहेका ढकालका बुवाले आफ्ना छोराछोरीलाई स्नातक पास नगरीकन जागिर खान दिने मनस्थिति बनाएनन् । ढकाल सम्झन्छन्–‘बुवा ब्याचलर पास नगरिकन जागिर खान दिन्न ब्याचलर पास गरेपछि खर्च दिन्न भन्नु हुन्थ्यो ।’


    ढकालले ब्याचलर पास गरेपछि लोकसेवा दिए खरदार तहको । प्रशासन, लेखा र राजश्व गरी तिन ठाउँमा नाम निकाले । अनि जागिर खान गए सिन्धुपाल्चोक । उनको नियुक्ति हुलाकमा भयो । यस अघि उनले नेपाल बैंकको परिक्षा दिएका थिए, नायव सुब्बामा नाम निकाले । त्यसपछि नायव सुब्बाको परिक्षा दिए, पास भए । ढकालले फेरी प्रशासन , लेखा र राजश्वमा नाम निकाले , प्रशासनमा सिफारिस भयो । लोकसेवामै अधिकृतको पदस्थापन भयो बुटवलमा । निजामती सेवाको नियमअनुसार ५ बर्ष अधिकृतको जागिर नखाई उपसचिव पदमा लड्न नपाउने ब्यवस्था थियो । ५ बर्षपछि उपसचिवमा लोकसेवामा सहभागि भए, यस पटक पनि तिनै ठाउँमा नाम निकाले । अनि उपसचिव भए ।


    परिवारै सरकारी सेवामा


    ढकालका तीन दिदी र चारभाई गरि सात दाजुभाई दिदी बहिनी छन् । तर, अचम्म के भने सवैजना सरकारी सेवामा छन् । जेठी दिदी शुसिला ढकाल पनि उपसचिव हुन् भने माईली दिदी शोभा ढकाल अधिकृत हुन् । कान्छी दिदी सरकारी कलेज पढाउँछिन् । ढकालका माँईलो भाई शोभाकान्त ढकाल प्रहरी निरिक्षाक छन् । साईलो एसओ एस भक्तपुरको डिपार्टमेण्ट प्रमुख छन् भने कान्छो भाई माहालेखा परिक्षकको कार्यालयमा अधिकृत छन् ।

    ढकालका सवै भिनाजुहरु पनि सरकारी सेवामा आवद् छन् । ढकाल भन्छन्–‘पहाडमा जन्मे हुर्के पनि मधेसको विकासमा योगदान पुर्याई रहेको छु । ’

    यतिबेला प्रदेश दुईलाई समृद्ध बनाउन सबै जनप्रतिनिधि र कर्मचारीले काँधमा काँध मिलाउन जरुरी भएको उनको ठहर छ ।

    -सन्तोष बराईलीबाट