• काठमाडौं । आठ महिनाको अवधिमा १ सय आठ कर्मचारी घुस लिँदालिदै पक्राउ परेका छन् । अख्तियारले गरेको साउनदेखि फागुन २१ गतेसम्मको ७५ वटा स्टिङ अपरेसनमा घुस रकमसहित एकजना सहसचिव, ५ उपसचिव, १२ शाखा अधिकृत, २ जना प्रहरी नायव उपरीक्षकसहित विभिन्न कार्यालयका १ सय ८ कर्मचारी प्रकाउ परेका छन् । पक्राउमध्ये धेरैजसो स्थानीय तह, नापी, मालपोत, यातायात कार्यालय र अदालतका कर्मचारी छन् ।

    कर्मचारीले काम छिटो गर्नदेखि कानुनले वर्जित गरेका काम मिलाइदिन घुस लिएको पाइएको छ । तर अख्तियारले र‌ंगेहात समाइएका कर्मचारीमार्फत तिनलाई संरक्षण दिने उच्च पदाधिकारी र सहयोगी सञ्जालसम्मलाई कारबाहीको दायरामा ल्याउन सकेको छैन । घूसको बढी कारोबार हुने कार्यालयमा कर्मचारी नै तालुक अधिकारीसँगको मोलतोलबाट पुग्ने गरेका छन् । सेवाग्राहीको भीड लाग्ने कार्यालयमा घूसको लेनदेन बढी भइरहेको अख्तियारको अनुसन्धानले देखाएको छ ।