• प्रा.डा.ऋतुप्रसाद गड्तौला नेपालमा नाम चलेका स्वास्थ्य विज्ञानका अध्यापक र वरिष्ठ चिकित्सक हुन् । लामो समय त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान एवं शिक्षण अस्पतालमा जागिर खाएका उनी केही समय अगाडि सेवानिवृत्त भएका छन् । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिन नियुक्तिको विषयमा पहिलोपटक डा.गोविन्द केसी अनशन बस्दा त्रिविले डिन छनौट समिति गठन गरेको थियो, जसका संयोजक थिए, डा.गड्तौला । उनीसहित डा.सुरेश बास्तोला र हरिदर्शन श्रेष्ठको समितिले सिफारिस गरेका डिनप्रति पनि डा.गोविन्द केसी सहमत भएनन् । र, अनशनको श्रृंखला विभिन्न नाममा चल्दै गए । अहिले पनि डा.केसी अनशनमै छन् ।
    सरकारले डा. गोविन्द केसीको माग कसरी पूरा गर्ला भन्ने बिषयमा उनको तर्क फरक छ । उनको भनाई जस्ताको तस्तैः–
    केसीको मागको ब्यवस्थापन सरकारले पहल गर्ने होइन, आफैँले जे गर्ने हो, गर्ने ! के डा. गोविन्द केसीले अनशन बस्दा सरकारलाई सोधेर बसेका हुन् ? सोधेनन् नि ! आफ्नो खुशीले बसेका हुन् । खालि नचाहिने–नचाहिने माग थप्दै र फलानोले ‘राजीनामा दे’ भन्दै जानुले मुलुकमा मभन्दा शक्तिशाली अरु कोही जन्मिएको छैन भन्ने दर्शाउँछ । केसीले उठाएको मागमध्ये केही अत्यन्तै संवेदनशील छन् । तर, अनशनैपिच्छे नचाहिने, नचाहिने मागहरु थप्नाले भोलि कुनै पनि संस्था खोल्न बन्देज लाग्ने देखिन्छ ।
    अनशनकै क्रममा प्रधानमन्त्रीमाथि विज्ञप्ति नै निकालेर लाञ्छना लगाइएको छ । यो डाक्टर केसीको बचपना हो । विज्ञप्तिमा आफ्नो स्वास्थ्यको बारेमा पनि केही बोल्नुभएको छ । मागहरु थप्दै र बालहठझैँ ‘मेरो माग पूरा गरे गर, नत्र…’ भन्दै दाह्रा किटेर अनशन बस्दा, स्वास्थ्य बिगिँ्रदा अब के गर्ने हामीले ? भोक हड्ताल बसें भनिएको छ । तर, रहस्यमय । पत्रकार जाँदा उठेर गफ गर्ने । तर, अरु जाँदा मरेजस्तै गरेर लम्पसार पर्ने । यो नौटंकी नभएर के हुनसक्छ ? मुलुक कुनै व्यक्तिको निजी वस्तु होइन । एउटा सरकारी कर्मचारीले प्रधानमन्त्रीलाई त्यसरी लाञ्छना लगाउँदै गर्दा तुरुन्त कारबाही हुनपथ्र्याे । तर, भएन । यस विषयमा गृह मन्त्रालयले सोच्नु पर्छ । सरकारले पनि हाल्नै नपर्ने खालका विधेयकहरु हालिदिएको छ । दश वर्षसम्म मेडिकल कलेज नखोल्नुपर्ने रे ! के उसोभए खोलामा लगेर मेडिकल चलाउने त ? आठ सय विद्यार्थी, पढाउने डाक्टर कताबाट जोहो गर्ने ? यस्ता नचाहिँदो उपद्रो काम गरेर हुन्छ ?

    यी जम्मै माग अस्ति नै सल्टिइसकेको थियो । तर, उहाँलाई पर्दापछाडि गगन थापाहरुको समूहले बोकिरहेको छ । बोक्नेले बोकेपछि बोकी नमाग्ने त कुरै भएन । अहिलेचाहिँ प्रष्ट हुन्छ, डा. केसीको चर्तिकला देख्दा । बिहान ९ बजे कुखुराको मासुसित भात खाने, अनि १० बजेदेखि पाँच बजेसम्म भोक हड्ताल बस्ने ! यस्तो नक्कली अनशन कतै हुन्छ ? वरिपरिका केही मान्छेले खाएको देख्ने, दुनियाँले यो भोकै छ, भोकै मर्ने भयो भनेर चिन्ता लिइदिनुपर्ने ?
    बिरामीको उपचार नै प्रभावित हुने गरी अनशन बसिएको छ, त्यो त गर्नै हुँदैन ! जबकि त्यसो गर्नु अन्याय हो भन्दै सर्वाेच्च अदालतले आदेश दिइसकेको छ । यस्तो अवस्थामा पनि अस्पतालभित्रै भोक हड्ताल बसेर मुलुक डुबाउन खोजिएको अवस्था हो । यसो गर्दा मेडिकल माफियाहरुलाई पनि कति कमिशन खुवाइएको छ, त्यो अत्तोपत्तो छैन । हामीकहाँ असत्य बढी बिक्छ, सत्य पछि मात्र थाहा हुन्छ । अनि हामी झस्याङ्ग हुन्छौँ । यद्यपि, वार्ता गर्ने विषयहरु पनि छैन । हो, अर्काेतिर नराम्रा छवि भएका फलानोलाई निकाल भन्ने माग ठीक हो । त्यो काम सरकारले जसरी पनि गर्नुपर्छ । र, नयाँ, पारदर्शी र छरितो थिती बसाल्नुपर्छ । यस्तो कुरामा सबैले सहमति जनाउन सकिन्छ ।