• बुटवल ।

    रुपन्देहीको शंकरपुरमा डिउटीमै रहेका प्रहरी जवान कृष्ण श्रेष्ठलाई गोली लाग्यो । । पौष २५ गते अवैध सामान लिएर रुपन्देहीको बेथरी तर्फ आईरहेका तस्करहरुलाई रोक्न खोज्दा प्रहरी हवल्दार डुकबहादुर खड्का कुटिए । यी घटनामा संलग्नताका आधारमा मध्यरुपन्देही सिद्धार्थनगर नगरपालिका–६ का केदार सहनीलाई प्रहरीले गोली हानेर त हत्या ग¥यो ।तर, यी घटना रुपन्देहीका एसपी हृदय थापा र डिएसपी कुमुद ढुंगेलबीचको समस्याले भएको खुलासा भएको छ । त्यसोत डिउटीमा हतियार विनानै खटाउने कारण पनि प्रहरीले पिटाई खानु परेको हो । रुपन्देही जिल्लाका बिभिन्न चौकीको अनुगमन गर्ने जिम्मा पाएका डिएसपी कुमुद ढुंगेलले यो घटनामा ध्यान नदिँदा प्रहरी जवान कृष्ण श्रेष्ठ घाइते भएको तल्लातहका प्रहरीहरु बताउँछन् । प्रदेश डिआईजी पिताम्वर अधिकारी सँग बिशेष सम्वन्ध रहेका ढुंगेलले माथिको लाईन भन्दै केही तस्करहरुलाई खुकुलो पार्ने गरेको स्रोतले वताएको छ । प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय बीच समन्वय गर्ने जिम्मा पाएका ढुंगेलले बैलेमा सचेतता अपनाएको भए प्रहरी जवान घाईते नहुने वताईन्छ ।

    मृतक तस्कर समूहको एक सदस्य भएको खुलासा भएको छ । मृतक सहनी विभिन्न फौजदारी कसुरमा प्रहरीको मोस्ट वान्टेड सूचीमा थिए । शंकरपुरमा गस्तीमा खटिएको प्रहरीमाथि भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका तस्करको समूहले गोली हानेको थियो । घटना रातको १२ वजेको समयमा भएको भनिएपनि यस वारे दिउँसै गाईँगुईँ हल्ला चलेको थियो । हल्ला अनुसार तस्कर भनिएका सहनीलाई पक्रेर हत्या गरिएको हुन सक्ने स्थानीयले शंका गरेका छन् ।
    भारतीय मोटरसाइकल युपी ५३ एच २०२८ मा आएका तस्करहरुलाई सादा पोशाकका प्रहरीले रोक्न खोज्दा उनीहरुले प्रहरीमाथी नै गोली चलाएको रुपन्देही प्रहरीले जनाएको छ । । डिउटीमा रहेका प्रहरीको हतियारसमेत नभएका कारण कुटाई खाएको स्थानीयहरु बताउँछन् । चौकी र जिल्ला प्रहरी कार्यालयको समन्वय गर्ने जिम्मा पाएको ढुंगेलले हतियारविना डिउटीमा जाँदासमेत वास्ता नगरेकोले समस्या आएको रुपन्देहीका केही प्रहरीले वताए ।
    घटनाले झन् तस्करहरुको मनोवल बढेको र त्यसले तस्करीहरुको क्रियाकलाप झन् बढ्ने खतरा भएपछि रुपन्देही प्रहरीले सिभिलमा ड्यूटीमा खट्ने प्रहरीलाई अनिवार्य रुपमा हतियार बोकेर हिड्न निर्देशन दिएको प्रमुख थापाले बताए । तर प्रहरीबीच समन्वय नभएको कुरा भने उनले स्वीकार गरेनन् । खुला सिमानाका कारण अवैधरुपमा समान तथा वस्तुहरु ओसारपोसार हुन थालेपछि सादा पोशाकमा प्रहरी परिचालन गरेको बताईन्छ । तर, केही सादा पोशाकका प्रहरीले तस्करीसँग लाईन मिलाएर ढुंगेल समक्ष सेटिङ मिलाउने गरेका छन् । पछिल्लो समय तस्करहरुले सक्रिय रुपमा संगठित तरिकाले अवैध ओसारपोसारमा वृद्धि गर्दै गएपछि रुपन्देही प्रहरी आलोचित भएको छ ।
    सुरक्षामा खटिएका प्रहरीमाथि नै हातपात हुनुले प्रहरीको नियतमा शंका थपिदिएको स्थानीय जानकारहरु बताउँछन् ।

    तस्करहरुले रुपन्देही र कपिलवस्तुका विभिन्न ठाउँबाट गोरु तस्कर समेत गर्न थालेका छन् । ती घटनामा सादा पोशाकका प्रहरीले अवैध आर्जन गर्न थालेको आरोप छ ।
    यो घटनापछि रुपन्देही र कपिलवस्तुका प्रहरीबीच समन्वयको वातावरण तयार गरी अपे्रभन तिब्र पारेको दुबै तिरका प्रहरी प्रमुखले दावी गरेका छन् ।
    कपिलवस्तुमा पनि खुला सिमानाका कारण अनेक घटना हुनसक्ने कारण दुई जिल्लाको समन्वय गरी अप्रेशन थालेको कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) अशोक पुडासैनीले बताए । पछिल्लो समय अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन् हुन थालेपछि त्यसलाई पनि कडा गरिएको र जसका कारण महिनामा १२ लाख सम्म राजस्व उठाएको प्रहरीे प्रमुख पुडासैनीले बताए । जस अन्तर्गत प्रति ट्रिपर चालिस हजार, स्काभेटरबाट पचहत्तर हजार र ट्याक्टरबाट पच्चिस हजारका दरले राजस्व असुली गरेको उनको भनाई छ ।
    रुपन्देही प्रहरीले भारतको नौतनुवालाई कार्य क्षेत्र बनाई आपराधिक क्रियाकलाप चलाइरहेको आरोपमा अमित साहनी पक्राउ गरेर काठमाण्डौं पठाएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले पनि तस्करीहरुलाई कानुन सम्बत ढङ्गले कारवाही गर्ने बताएका छन् ।
    -ऋषि भट्टराई