•  

    काठमाडौं ।

    नयाँ बरियतासहित ओली सरकारमा सहभागी भएका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र सचिव पुष्पा चौधरीबीच उत्पन्न मतभेदले स्वास्थ्य मन्त्रालयमा समस्या देखिएको छ । पदबहाली गरेको दुई महिना बित्न नपाउँदै मन्त्री यादवले सचिव चौधरीको कार्यशैली वारे तीव्र असन्तुष्टी भएका मन्त्रीले सचिव चौधरीलाई मन्त्रीपरिषद् कार्यालयमा पठाउने तयारी गरेका छन् ।सचिव चौधरीको निर्णय क्षमता अभावका कारण फाईलहरु समयमा नै पेश नगर्ने मन्त्री परिषद्मा लैजानु पर्ने प्रस्ताव समयमा नै दर्ता नगर्ने र मन्त्री परिषद पठाएका प्रस्ताव फिर्ता हुने अवस्था आएपछि मन्त्री यादव सचिव वाट आजित भएका छन् ।
    पूर्ववर्ती देउवा सरकारका पालाका स्वास्थ्यमन्त्री दीपक वोहोराले सचिव वनाएका डाक्टर चौधरी राम्रो चिकित्सक भएपनि प्रशासनिक क्षमतामा कमजोर देखिएको मन्त्रालयमा नै चर्चा छ । फाईल सधै अड्कने कारण पनि उनको कार्यक्षमतामा प्रश्न चिन्ह उठेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले वताए । पति श्रवणकुमार चौधरीलाई घरमा लगेर फाईल देखाउने र अर्को दिनमात्र निर्णय गर्ने कारण पनि निर्णयमा ढिलाई भएको मन्त्री यादवको बुझाई छ । मन्त्रालयस्रोतका अनुसार अहिले कृष्ण थापा भन्ने ब्यक्तिलाई वाहिरैवाट तलव खुवाउने गरी सचिवले आफ्नो कार्यकक्ष अगाडी राखेकी छिन् । थापाको काम भनेको सचिवका पति चौधरीको ईशारामा फाईलका बिषय अध्ययन गरी सचिवलाई बिफ्रिङ्ग गर्ने रहेको छ । मन्त्रालययमा थापालाई छायाँ सचिव भन्ने गरिएको छ । त्यसोत मन्त्रालयसँग कुनै साईनो सम्वन्ध नभएका थापाको बैधतामा पनि प्रश्न उठ्न थालेको छ ।
    मन्त्री र सचिवबीच बढ्दो मनमुटावले ८ जना सहसचिवहरु दुई महिनादेखि कामविहीन छन् । उनीहरुको कार्यक्षेत्र नतोकिदा ‘बरण्डा महाशाखा’का सहसचिव भनेर चिनिएका छन् । मन्त्रीले पेश गर्न भनेपनि सचिवले फाईलहरु पेश नगर्दा ती सहसचिवहरु ‘बरण्डा महाशाखा’मा थन्किएका हुन् । यसरी काम र जिम्मेवारविहिन भएपछि हाजिर गर्दै टाप कस्ने सहसचिवहरुमा डाक्टर रमेश खरेल,विकास लामिछाने,महेन्द्र श्रेष्ठ,अनुज भट्चन,सुस्मिता भण्डारी,राधिका थपलिया,बद्रीवहादुर खड्का र यदुचन्द्र घिमिरे छन् । उता राज्यमन्त्री पद्मा अर्यालका पालामा स्वास्थ्य मन्त्रालयमा सरुवा भएका सहसचिव मधुसुदन बुर्लाकोटी कर्मचारी महाशाखावाट तानिएका छन् । बुर्लाकोटीलाई कर्मचारी प्रशासन महाशाखावाट जनसंख्या महाशाखामा लगिएको छ । कर्मचारी ट्रेड युनियनका अध्यक्ष पुण्य ढकाललगायतको जोडवल लगाएर स्वास्थ्य मन्त्रालय पुगेका बुर्लाकोटीलाई मन्त्री अर्यालले सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसँग आग्रह गरेर स्वास्थ्यमा लगेपनि पछि बुर्लाकोटी ढंगले उठ्तीपुठ्तीमा लागेको वताईन्छ । सामान्य प्रशासनमन्त्री पण्डितले त्यहिवेला नै बुर्लाकोटी सँग काम लिन तपाईले सक्नुहुन्न भनेर मन्त्री अर्याललाई अर्को नाम भन्नुस भनेका थिए । तर, कर्मचारी संगठनका नेताहरुको पावरमा उनी स्वास्थ्यमा सरुवा हुन सफल भएका थिए । बुर्लाकोटी प्रशासनमा अक्षम र अस्थिर कर्मचारीको रुपमा चिनिन्छन् ।उनी जुन ठाउँमा गएपनि छ महिना भन्दा टिकेका उदाहरण छैन । जहाँ गएपनि बिवादमा मात्र मुछिएका छन् ।
    स्वास्थ्य प्रशासन महाशाखामा जनार्दन गुरागाई ल्याईएका छन् ।
    सचिव चौधरीको यस अघिका मन्त्री अर्यालसँग पनि तालमेल मिलेको थिएन । फटाफट काम गर्ने स्वभाव र कार्य शैली भएकी मन्त्री अर्यालसँग सचिव चौधरीले काम गर्न नसकेपछि त्यतिवेला पनि मन्त्री र सचिव बीच सुमधुर सम्वन्ध थिएन । जिम्मेवारी अनुसार काम र निर्णय गर्ने भन्दा पनि पन्छिने शैलीकी सचिव चौधरीको मुख्यसचिव लोकदर्शन रेग्मीसँग घनिष्ट सम्वन्ध भएका कारण टिकिरहेको चर्चा मन्त्रालयभित्र नै छ ।औषधी खरिददेखि अस्पताल नवीकरणसम्म र सरुवादेखि बैदेशिक भ्रमणसम्मका काममा धेरै रुची राख्ने सचिव चौधरी आर्थिक चलखेलको घेराभित्र परेको वताईन्छ । जस्का कारण अहिले मन्त्री यादवसँग खटपट हुन पुगेको छ ।मन्त्रालयका एक अधिकारीका अनुसार मुख्यसचिव दाहिना भएका कारण सचिवको मन्त्रीसँग टकराव लिने हिम्मत बढेको हो ।
    -जनप्रशासन पाक्षिक