• पाल्पा । लकडाउनको समय सदुपयोग गर्दै पाल्पा, निस्दी गाउँपालिका–४ लामेदमारका कृषक सूर्यमुखी फूल टिप्न व्यस्त छन् । अन्यत्र निस्कने अवस्था नभएपछि खेतमा लगाइएका सूर्यमुखीका फूल टिप्ने र घरमा सुकाउने कार्यमा यहाँका कृषकको दिनचर्या बित्ने गरेको छ । यहाँ करीब ६० घरका कृषकले व्यावसायिक तवरले यसको खेती शुरु गरेका छन् ।

    गाउँपालिकाले सूर्यमुखी मुख्य क्षेत्र विस्तार गर्न बीउ तथा मल व्यवस्थापनका लागि दुई लाख सहयोग गरेको कृषि शाखा प्रमुख खिमराज कोइरालाले जानकारी दिए । उनले भने, “पहिलो पटक लगाइएको सूर्यमुखी खेतीले सोचेभन्दा राम्रो उत्पादन भएपछि व्यवसायमा कृषकको आकर्षण बढ्दो छ, कृषक लकडाउनको समय सामाजिक दूरी कायम गरी खेती स्याहार्न व्यस्त छन्” ।

    गत वर्ष मुढाबास क्षेत्रमा पनि करबि १५० रोपनी क्षेत्रफलमा समूहमा सूर्यमुखी खेती गरिएको थियो । जिल्लामा हाल निस्दी र बगनासकाली गाउँपालिकामा व्यावसायिक फूल खेती गरिएको छ । साथै रामपुर र तानसेन नगरपालिकाको माडी क्षेत्र पनि सूर्यमुखी खेतीका लागि सम्भाव्य क्षेत्र रहुन् ।

    बगनासकालीले सूर्यमुखी खेतीलाई व्यावसायीकरण गर्नका लागि आर्थिक वर्ष २ं०७६÷०७७ को बवेटमार्फत निःशुल्क बीउ वितरण गरेको छ । मौरी चरन क्षेत्र विस्तार गर्ने र कृषकलाई सूर्यमुखी खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले बीउ वितरण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख राजेश बोहराले जानकारी दिए । उनका अनुसार गाउँपालिकाभित्र हाल ९६ रोपनी क्षेत्रफलमा सूर्यमुखी खेती गरिएको छ ।

    वडा नं २, ८, ९ मा सूर्यमुखीको खेती तुलनात्मक रुपमा बढी भए पनि अन्य वडामा पनि यसको खेती गरिँदै आएको छ । हाल व्यावसायिक तरिकाले यसको खेती गर्ने कृषकलाई भने थप व्यावसायीकरण गर्दै अगाडि बढाउने योजना गाउँपालिकाको छ । ठूलो क्षेत्रमा खेती गरेका खण्डमा यसको बजार राम्रो छ । नगदेबालीका सूर्यमुखीको व्यावसायीकरणका लागि जिल्लामा माग नआएको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउँछन् ।

    कुनै समय घर आँगन वरिपरि र करेसाबारीमा शोखका रुपमा लगाइने गरे पनि पछिल्लो समय भने कृषकले व्यावसायिक रुपमा यसको खेती शुरु गरेका छन् । मौरी चरनका लागि सूर्यमुखी फूल उपयोगी ठानिने र यसबाट कृषकले तेब्बर फाइदा लिन सक्ने भएका कारण कृषकले व्यावसायिक रुपमा खेती गर्न थालेका हुन् ।

    एक बालीबाट तेब्बर बाली उत्पादन लिन सकिने हुँदा यस खेतीतर्फ कृषकको आकर्षण बढेको छ । फूलको बियाँबाट तेल उत्पादन गरी मनग्य आम्दानी लिन सकिन्छ भने डाँठलाई दाउराका रुपमा प्रयोग गर्न सकिन्छ । सूर्यमुखी बाह्रै महिना फुलाउन सकिन्छ ।