• नयाँ सरकार गठन पश्चात् सुशासन, सेवा प्रवाह र प्रशासनिक सुधारलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् तथा सम्बन्धित निकायबाट तत्काल निर्णय गर्नुपर्ने केही विषयहरू निम्नानुसार प्रस्तुत गरिएको छ।

    १. प्रशासनिक अनुशासन र संरचनात्मक सुधार

    • नीतिगत निर्णय प्रक्रियामा सहभागी हुने सह–सचिवहरूलाई खर्च गर्ने खाता सञ्चालन, माग फाराम स्वीकृति तथा PAMS सञ्चालनमा तत्काल रोक लगाउनुपर्छ।
    • ३० वर्ष सेवा अवधि पुगेका कर्मचारीहरूलाई स्वेच्छिक अवकाश वा राजीनामा दिन आग्रह गर्नुपर्छ। अस्वीकार गरेमा एकपटकका लागि विशेष अवकाश सम्बन्धी कानुनी व्यवस्था ल्याउन सकिन्छ।
    • यसबाट रिक्त हुने दरबन्दीमध्ये ५० प्रतिशत खारेज गरी प्रशासनिक संरचना सानो र प्रभावकारी बनाउनुपर्छ।
    • बाँकी कर्मचारीलाई सेवा अवधिका आधारमा एक तह वृद्धि वा बढुवा गरी एक वर्षको परीक्षणकाल लागू गर्नुपर्छ।
    • खर्च गर्ने अधिकार सिनियर उपसचिव, उपसचिव शाखा अधिकृत तहमा सीमित गर्नुपर्छ।

    २. उच्च प्रशासनमा सुधार

    • उच्च प्रशासकहरूका लागि कडा आचारसंहिता लागू गर्नुपर्छ।
    • हालका सचिवमध्ये करिब ५० प्रतिशतलाई राष्ट्रिय योजना आयोगमा व्यवस्थापन गरी सक्षम सहसचिवहरूलाई सचिवमा पदोन्नति गर्ने व्यवस्था गर्नुपर्छ।
    • महानिर्देशक (DG) पदमा वर्षे निश्चित कार्यकाल तोक्नुपर्छ, जसलाई बीचमै हटाउन नमिल्ने व्यवस्था हुनुपर्छ।

    ३. कर्मचारी ट्रेड युनियन व्यवस्थापन

    • दलगत कर्मचारी ट्रेड युनियनहरूलाई तत्काल निष्क्रिय गर्नुपर्छ।
    • ती युनियनका नाममा रहेका जग्गा, भवन लगायत सम्पत्ति नेपाल सरकारको नाममा ल्याउनुपर्छ
    • केन्द्रीय पदाधिकारी, सदस्य तथा जिल्ला अध्यक्षहरूलाई उपत्यका बाहिर अनिवार्य सरुवा गर्नुपर्छ।
    • निजामती सेवामा एक मात्र आधिकारिक ट्रेड युनियन रहने र त्यो समानुपातिक तथा प्रत्यक्ष निर्वाचनबाट चयन हुने व्यवस्था हुनुपर्छ।

    ४. संघीय निजामती सेवा ऐन

    संघीय निजामती सेवा ऐन तत्काल जारी गरी निम्न सुधार गर्नुपर्छ—

    • कर्मचारीको सेवा सुरक्षा, तलब, स्वास्थ्य र शिक्षामा सुधार
    • चक्रिय र अनुमानयोग्य सरुवा प्रणाली
    • खुला प्रतिस्पर्धाबाट उपसचिव र सहसचिव तहमा उम्मेदवारीको अवसर
    • ७ वर्षमा एक तह र १२ वर्षमा दुई तह बढुवा प्रणाली
    • प्राविधिक सेवामा अनावश्यक उपसमूह खारेज

    ५. स्वास्थ्य सेवा सुधार

    • सरकारी अस्पतालहरूमा रहेका MRI लगायतका उपकरण पूर्ण सञ्चालनमा ल्याउनुपर्छ
    • अपरेशन तथा उपचारका लागि महिनौँ कुर्नुपर्ने अवस्था अन्त्य गर्न जनशक्ति उपकरण व्यवस्थापन गर्नुपर्छ।
    • औषधि तथा उपकरण खरिदमा हुने मिलेमतो ठेक्का कार्टेल अन्त्य गर्ने प्रणाली विकास गर्नुपर्छ।

    ६. शिक्षा क्षेत्र सुधार

    • सरकारी विद्यालयहरूमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न विद्यालय मर्ज तथा आवासीय विद्यालय प्रणाली लागू गर्नुपर्छ।
    • निजी विद्यालयको शुल्क १० हजार रुपैयाँभन्दा कम कायम गर्ने नीतिगत व्यवस्था आवश्यक छ।

    ७. शहरी व्यवस्थापन

    • काठमाडौं उपत्यकाका सडक र टोलहरूमा निरन्तर सरसफाइ अभियान सञ्चालन गर्नुपर्छ।
    • सरकारी कार्यालयहरूलाई अपांगमैत्री बनाउनुपर्छ।

    ८. सामाजिक सेवा

    • ६० वर्षभन्दा माथिका नागरिक, गर्भवती, अपांगता भएका व्यक्ति तथा दीर्घ रोगीहरूका लागि निःशुल्क सार्वजनिक यातायात सेवा सञ्चालन गर्नुपर्छ।

    ९. सेवाग्राही सहायता प्रणाली

    • मालपोत, जिल्ला प्रशासन, यातायात, राजस्व, श्रम जस्ता कार्यालयमा सेवाग्राही सहायता डेस्क स्थापना गर्नुपर्छ।
    • बिचौलिया नियन्त्रण गर्न सिसिटिभी निगरानी डिजिटल प्रणाली लागू गर्नुपर्छ।

    १०. भूमि तथा राजस्व प्रणाली

    • जग्गा खरिद बिक्रीलाई अनलाइन प्रणालीमार्फत शेयर कारोबार सरह सञ्चालन गर्ने व्यवस्था गर्नुपर्छ।
    • यसबाट कर छली नियन्त्रण र प्रशासनिक पारदर्शिता बढ्नेछ।

    ११. पूर्वाधार र ठेक्का व्यवस्थापन

    • ठेक्का प्रणालीमा म्याद थप भेरिएसनको दुरुपयोग रोक्न कडा कानुनी व्यवस्था आवश्यक छ।
    • DPR लाई अनियमितताको माध्यम बन्न नदिन पारदर्शी प्रणाली लागू गर्नुपर्छ।

    १२. पर्यटन सुधार

    • नेपाली पर्यटकलाई प्राथमिकता दिने हवाई टिकट कोटा प्रणाली लागू गर्नुपर्छ।
    • प्रमुख पदमार्गहरूमा सरकारको स्वामित्वमा ठूला होमस्टे तथा पर्यटक आवास सञ्चालन गर्न सकिन्छ।

    १३. डिजिटल प्रशासन

    • कर्मचारी सरुवा प्रणालीलाई सफ्टवेयरमार्फत स्वचालित बनाउनु आवश्यक छ।
    • यसबाट बिचौलिया र राजनीतिक हस्तक्षेप न्यून हुनेछ।

    १४. भ्रष्टाचार नियन्त्रण

    • महानिर्देशक नियुक्ति, दरबन्दी थपघट, अस्थायी आयोजना स्थापना लगायतका क्षेत्रमा हुने आर्थिक चलखेलको कडाइका साथ छानबिन गर्नुपर्छ।
    • नक्कली उपभोक्ता समिति वा कम्पनीमार्फत हुने सरकारी अनुदान दुरुपयोग नियन्त्रण गर्नुपर्छ।

    संयोजक

    पशुपति पोखरेल