• भेनेजुएलामा आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएर अमेरिकाले न्यूयोर्क पुर्‍याएको छ । मदुरोलाई राजधानी कराकसबाट हेलिकप्टरमा उडाएर क्यारिबियन सागरको थाहा नभएको ठाउँमा यूएसएस इवो जिमामा लगिएको थियो ।

    त्यसपछि उनलाई क्युबाको ग्वान्टानामो खाडी अमेरिकी नौसेना बेसमा पुर्‍याइएपछि अर्को विमानमा न्यूयोर्क राज्यको ओरेन्ज काउन्टीमा रहेको स्टीवर्ट एयर फोर्स बेसमा लगिएको बीबीसीले उल्लेख गरेको छ ।

    समग्रमा राष्ट्रपति मदुरो पक्राउ परेदेखि अमेरिकामा अवतरण गरेसम्म २ हजार १ सय माइल अर्थात् ३ हजार ३ सय किलोमिटरको यात्रा गरेका छन्। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘आँखामा पट्टी बाँधिएको’ मदुरोको तस्बिर आफ्नै सामाजिक सञ्जाल ’ट्रुथ सोसियल’ मा सार्वजनिक गरेका थिए। अब भेनेजुएलामा अर्को सरकार नबनेसम्म अमेरिकाले नै सरकार चलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

    भेनेजुएलामा अमेरिकी आक्रमण र मदुरो पक्राउ परेपछि विश्व समुदाय भने विभाजित देखिएको छ । अमेरिकामा दोश्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएदेखि नै ट्रम्पले भेनेजुएलामा सत्ता परिवर्तन हुनुपर्ने विषय उठाएका थिए ।

    ट्रम्पको पहिलो कार्यकालमै मदुरोसँग सम्बन्ध राम्रो थिएन । मदुरोले अमेरिकामा लागूऔषध तस्करी गराइरहेको आरोप लगाउँदै आएको अमेरिकाले अब न्यूयोर्कमा मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसमाथि मुद्दा चलाउने बताएको छ ।