• काठमाडौं : आज धान्य पूर्णिमा, योमरी पुन्हि र उधौली पर्व धुमधामका साथ मनाइएको छ । धानको विधिपूर्वक पूजा एवम् दान गरी धान्य पूर्णिमा पर्व मनाउने गरिन्छ ।

    मङ्सिरमा धान भिर्त्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कूलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने र त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।

    यस अवसरमा काभ्रेको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाण्डौको चम्पादेवी, नुवाकोटको शिखरबेँसी र दुप्चेश्वरलगायतका ठाउँमा मेला लाग्ने गर्छ । यस्तै नयाँ धान भित्र्याएको खुशीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व मनाएका छन् । मंसिर शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ ।

    नेवार समुदायको ठूलो पर्वका रूपमा मनाइने योमरी पुन्हिलाई खाद्य पदार्थको रसिलो चाडका रूपमा लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ । आजैको दिन ज्यापु दिवस पनि मनाइएको छ । नेवारी समुदायको समेत मूल संस्कृतिको रूपमा रहेको यसको संरक्षणका लागि सरकारले ज्यापु दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिएको छ ।

    यस्तै आज किराँत समुदायले पितृको मान र प्रकृतिको सम्मानका रूपमा उधौली पर्व मनाएका छन् । उधौलीको अवसरमा किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउँछन् । किराँत समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रुपमा मनाउने चलन छ ।

    बाली लगाउने बेलामा भने किराँत समुदायले उभौली पर्व मनाउँछन् । वैशाख शुक्ल पूर्णिमामा उभौली पूजा गरेका किराँतले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो भएसँगै साकेला अर्थात भूमीलाई धन्यवाद दिने गरिन्छ । देशका धेरैजसो जाति समुदायको महत्त्वपूर्ण पर्व पर्ने भएकाले सरकारले आज सार्वजनिक बिदा दिएको थियो ।