• चीनको सत्तारूढ कम्युनिस्ट पार्टीले व्यापक सैन्य कारबाही गर्दै ९ जना शीर्ष जनरललाई निष्कासन गरेको छ । यो चिनियाँ कम्युनिस्ट पार्टी ९सीपीसी० ले दशकौंपछि सेनामाथि गरेको सबैभन्दा ठूलो सार्वजनिक कारबाहीमध्ये एक रहेको बीबीसीले जनाएको छ ।

    उनीहरूमाथि गम्भीर आर्थिक अपराधको आशङ्का गरिएको चीनको रक्षा मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । तीमध्ये धेरैजसो तीनतारे जनरलहरू थिए र पार्टीको निर्णय लिने केन्द्रीय समितिको हिस्सा थिए ।

    रक्षा मन्त्रालयले भ्रष्टाचार विरोधी अभियानको एक भागका रूपमा शीर्ष जनरलहरूलाई निष्कासन गरेको उल्लेख गरे पनि विश्लेषकहरूले यसलाई राजनीतिक शुद्धीकरणका रूपमा पनि हेर्न सकिने बताएका छन् ।

    पार्टीको पूर्ण बैठकको पूर्वसन्ध्यामा सीपीसीले उनीहरूलाई निष्कासन गरेको हो । निष्कासनमा परेकामध्ये हे वेइडोङलाई केन्द्रीय सैन्य आयोग ९सीएमसी० का अध्यक्ष राष्ट्रपति सी जिनपिङपछि चीनको सेनामा दोस्रो उच्च पदस्थ अधिकारीका रूपमा सबैभन्दा प्रमुख मानिन्थ्यो ।

    उनीहरूले पार्टी अनुशासनको गम्भीर उल्लङ्घन गरेका र उनीहरूमाथि अत्यन्त हानिकारक परिणामहरूसहितको गम्भीर कर्तव्यसम्बन्धी अपराधको शङ्का गरिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।