

-
रासस
झापा : महाभारतकालीन विराट राजाको सालो किच्चकको दरबार रहेको विश्वास गरिएको भद्रपुर नगरपालिका-३ स्थित किच्चकबधस्थलमा पुरातत्त्व विभागको टोलीले आठौँ चरणको उत्खनन गरेको छ ।
उत्खनन गर्दा पुरातात्त्विक महत्वको ‘दरबारको जग’ भेटिएको पुरातत्त्वविद् उद्धव आचार्यले जानकारी दिए । उनको नेतृत्वमा पुरातत्त्व विभागबाट आएको चार सदस्यीय टोलीले यही फागुन २५ गतेदेखि किच्चकबध स्थलमा उत्खनन तथा संरक्षणको कार्य निरन्तर गरिरहेको छ ।
विभागका अधिकृत नवराज अधिकारीले किच्चकबध स्थलमा बि.सं. २०५८ देखि विभागले आचार्यको नेतृत्वमा उत्खनन गरिरहेको बताए । उनका अनुसार यस पटक जारी उत्खननका क्रममा तीन मिटरभन्दा गहिरो जग र केही प्राचीन सामग्रीहरू भेटिएका हुन् । भेटिएको जगको इँटाहरू विगतमा फेला परेका इँटासँग मिल्दोजुल्दो छ ।
“यस पटक हामीले केही नयाँ ठाउँमा उत्खनन गरेका थियौँ”, पुरातत्त्वविद् आचार्यले भने, “विगतमा उत्खनन हुँदा फेला परेका प्राचीन संरचनाहरूको संरक्षणमा बढी ध्यान दिएका छौँ ।” उनका अनुसार विगतमा यहाँ भएको उत्खननबाट २२०० वर्ष पुरानो दरबारको सुरक्षा पोस्ट, पर्खाल र कम्पाउन्डसहितको भौतिक संरचना भेटिएको थियो । त्यस बेला मानिसले प्रयोग गर्ने भाला, बाण र माटाका भाडावर्तनसमेत फेला परेपछि त्यसलाई पुरातत्त्व विभागले संरक्षण गर्दै आएको छ ।
दश बिघा क्षेत्रमा फैलिएको किच्चकबध स्थलमा पछिल्लो समय मानव निर्मित मन्दिर, पोखरी र अन्य भौतिक संरचना बनाइएका कारण प्राचीन महत्वका संरचना तथा वस्तुहरू नष्ट हुने जोखिम छ । विभागले नयाँ संरचनाहरू जथाभाबी रूपमा नबनाउन आग्रह गर्दै आएको छ । विगतमा खनजोत गरेर खेतीपातीसमेत गरिएका कारण कतिपय भूसतहका पुरातात्त्विक महत्त्वका वस्तुहरू नष्ट भएको विभागको आशंका छ ।
गत वर्ष विभागले एउटा मन्दिर हटाउन लगाएको थियो । सोही मन्दिरमुनि यस पटक उत्खनन गर्दा प्राचीन दरबारको जग भेटिएको छ । यस पटक अझै केही दिन उत्खनन र संरक्षणको कार्य जारी रहने विभागका अधिकृत अधिकारीले जानकारी दिए ।
पुरातत्त्वविद् आचार्यले किच्चकबध स्थलमा फेला परेका प्राचीन वस्तुहरूको बेलायतमा नमुना लगेर कार्बन टेस्ट गर्दा २२ सय वर्ष पुरानो पुष्टि भएको बताए। प्राचीन स्मारकका बारेमा आठौँ चरणसम्मको उत्खननबाट कुनै लिखित सामग्री भने फेला नपरेको उनले बताए ।
“यहाँ हामीले भेटाएका सामानहरू २२ सय वर्ष पुरानो वास्तुकला, सभ्यता र संरचनाको प्रमाण भएको पुष्टि भइसक्यो”, उनले भने, “सानो कम्पाउन्डसहित सुरक्षा पोस्ट र हात्ती घोडालाई लगाइदिने सामान पनि भेटिएका छन् । यी कुराले यो स्थान प्राचीन धरोहर हो भन्ने प्रमाणित हुन्छ ।”
किंवदन्तीअनुसार महाभारतकालीन राजा विराटको ‘किच्चक’ नामका सालो थिए । यहाँ उनको दरबार थियो । पाँच पाण्डव गुप्तबास बसेका बेला द्रौपदीमाथि कुदृष्टि राखेका कारण भीमसेनले विराटनगरदेखि लखेटेर किच्चकलाई यही दरबारमा ल्याएर बध गरेका थिए । त्यही कारण यस स्थानलाई किच्चकबध स्थल भनिन थालेको हो ।
सरकारले किच्चकबध स्थलको पौराणिक तथा पुरातात्त्विक महत्त्व धेरै भए पनि उत्खनन तथा संरक्षणका लागि पर्याप्त लगानी गर्न सकेको छैन । थोरै बजेट भएका कारण उत्खनन र संरक्षणको कार्य हरेक वर्ष अधुरो हुने गरेको छ ।
सरकारले उत्खननका लागि यस पटक रु. १० लाख बजेट छुट्याएको विभागका अधिकृत अधिकारीले बताए । “बजेट धेरै हुने हो भने एकै वर्षमा धेरै काम हुन्थ्यो”, उनले भने, “तैपनि सीमित स्रोतसाधन हुँदाहुँदै दैनिक १३ जनासम्म कामदार लगाएर यसपालि संरक्षणको काम गरिरहेका छौँ ।”
किच्चकबधस्थल मानिसको प्राचीन सभ्यता र संस्कृति चिनाउने एउटा ऐतिहासिक स्थल भएकाले यसको प्रचारप्रसार हुन सके ठूलो सङ्ख्यामा पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको स्थानीय किच्चकबध संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेबेले बताए ।
News Desk 0 response मङ्लबार, चैत्र १८, २०८१

सम्बन्धित शीर्षकहरु
-
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
त्रिभुवन विमानस्थलबाट आधा किलोभन्दा धेरै सुनसहित चिनियाँ..
सोमवार, मंसिर १, २०८३ -
‘वुल्कन’ रकेट प्रक्षेपण असफल, एमेजोनका ४० इन्टरनेट..
सोमवार, मंसिर १, २०८३ -
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३
-
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
त्रिभुवन विमानस्थलबाट आधा किलोभन्दा धेरै सुनसहित चिनियाँ..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३
-
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३


