

-
सुरुङ्गा । झापाको विर्तामोड नगरपालिका–९ निवासी लक्ष्मीमाया अधिकारीले सयपत्री फूलको व्यावसायिक खेती गरेको अढाई वर्ष भयो । उहाँले फूलखेती गरेरै आफ्नो परिचय फेर्नुभएको छ । परिचयसँगै उहाँको जीवनशैलीसमेत फेरिएको छ । गाउँ समाजमा लक्ष्मी दिदी भन्नेहरु अहिले उहाँलाई ‘फूलमाया’ भन्छन् । फूलखेती गरेकै कारण लक्ष्मीमाया एकाएक फूलमाया हुनुभयो ।
जन्मदेखि मृत्युसम्म र मन्दिरदेखि घाटसम्म नै अति आवश्यक मानिने फूल केही समयअघिसम्म चाडपर्व (दशैँ, तिहार)लाई लक्षित गर्दै सोखका रूपमा घर वरिपरि आँगनको डिलमा वा करेसाबारीमा थोरै मात्रामा रोप्ने गरिन्थ्यो । तर, अहिले घर सजावटका लागि मात्रै रोपिने त्यही फूलको झापामा व्यावसायिक खेती हुने गरेको छ ।
फूल रोपेरै अधिकारीले वार्षिक रु पाँच लाख आम्दानी गर्न थालेपछि उहाँको परिचयसँगै आर्थिकस्तरसमेत माथि उठेको बताइएको छ । अधिकारीले अहिले आठ कठ्ठा क्षेत्रफलबाट फूल रोपेरै मनग्य आम्दानी गरिरहनुभएको छ । गत तिहारमा मात्रै उहाँले फूल बेचेर रु एक लाख २० हजार आम्दानी गर्नुभयो ।
“प्रतिकेजी रु ३०/४० मा बिक्री हुने सयपत्री फूल तिहारको बेला तीन दिनमा मात्रै रु एक लाख २० हजारको बिक्री गरेपछि छरछिमेकीसमेत अचम्मित भए”, अधिकारीले भन्नुभयो, “तीन दिनमा रु एक लाख २० हजारको फूल बेचेपछि अहिले मलाई पनि फूलखेती गर्ने सिकाइदिनु भन्नेहरुको कमी छैन ।”
नेपाल टेलिभिजन हेर्दा फूलखेती गरेर मनग्य आम्दानी गर्न सकिन्छ भन्ने सन्देशसहितको पश्चिम नेपालको एउटा फूलखेतीसम्बन्धी समाचारको प्रेरणाले फूलखेती गर्न शुरु गरेको उहाँले बताउनुभयो । “गर्न जाने हुँदोरहेछ”, अधिकारीले भन्नुभयो, “हिजो फूल रोप्दा न दशैँ न तिहार किन फूल रोपेकी भनेर खिसी गर्नेहरु अहिले मलाई पनि फूलखेती गर्न सिकाइदिनु दिदी भन्दै आउँछन् ।”
अधिकारीले वर्षमा तीनपटक फूल रोप्नुहुन्छ । एकपटक रोपेको फूलले अढाई/तीन महिनादेखि आम्दानी दिन शुरु गर्छ । चार महिनामै फूल टिपेर बिक्री गरिसक्नुपर्छ अधिकारीले भन्नुभयो, “चक्रीय बालीजस्तै हुँदोरहेछ फूलखेती पनि ।”
प्रायः सबैको घर–आँगनमा दशैँ तिहारमा मात्रै ढकमक्क फुल्ने सयपत्री फूल अहिले उहाँको घरमा बाह्रै महिना फुल्छ । त्यही फूल बेचेर घर खर्च चलाउनुभएको छ । विद्यालयमा हुने कार्यक्रम होस् वा कुनै सङ्घसंस्थाको सभा–समारोह जे भए पनि सबैले उहाँकै बारीबाट फूल लान्छन् । “फूल बेच्न बाहिर बजार धाउनुपरेको छैन”, अधिकारीले भन्नुभयो, “यो सिजनमा सयपत्री प्रायः फुल्दैन तर पनि म भने फूल फुलाएर महिनाकै रु १०/१२ हजारको बेच्छु ।”
शुरुमा उहाँले परीक्षणका लागि थोरै ठाउँमा रोप्नुभएको फूल राम्रो भएर आएपछि त्यही फूललाई बीउ बनाएर राखी एक÷दुई कठ्ठा गर्दै अहिले आठ कठ्ठा क्षेत्रफलमा फूल रोप्नुभएको छ । “ढकमक्कै सयपत्री फूलेको समयमा हेर्नेको भीड लाग्छ । सोध्नेलाई उत्तर दिन भ्याइनभ्याई हुन्छ । फूलको बीउ माग्नेले हैरान बनाउँछन् ”, उहाँको भनाइ छ ।
फूलको बीउ र बिरुवासमेत बिक्री गर्न शुरु गर्नुभएकी अधिकारीले अहिले घर नजिकैको गोठमा फूलका थुङ्गालाई बीउका रूपमा सुरक्षित राख्नुभएको छ । “फूल माग्न आउनेहरु फूलको बीउ देखेपछि दिदी मलाई पनि रु सय÷दुईसयको फूलको बीउ दिनु है भन्छन्”, उहाँले भन्नुभयो, “अहिले दैनिक रु पाँच÷सात सयको त फूलको बीउ मात्रै बिक्री गर्छु ।”
फूल बेचेरै वर्षमा खर्च कटाएर रु तीन लाखसम्म बचत गर्ने गरेको अधिकारीको भनाइ छ । फूलखेतीका लागि श्रीमान्को पनि साथ छ उहाँलाई । लक्ष्मीले भन्नुभयो, “फूलखेती गर्दा श्रम पनि धेरै गर्नु नपर्ने भएपछि श्रीमान्समेत दङ्ग हुनुहुन्छ ।” केही वर्षअघिसम्म खेती गर्दा घामपानी नभनी हैरानी व्यहोर्नु परे पनि अहिले सहज भएको उहाँले बताउनुभयो ।
फूलखेतीकै लागि अहिले दुई बिघा जमीन ‘लिज’मा लिएको लक्ष्मीका श्रीमान् दलबहादुरले बताउनुभयो । विर्तामोड नगरपालिकाले समेत फूलखेतीका लागि टनेल निर्माणमा रु ६० हजार अनुदान दिएपछि अधिकारी दम्पतीले थप फूलखेती विस्तारका लागि योजना अघि सार्नुभएको छ ।
झापामा सयपत्रीको व्यावसायिक फूलखेती गर्ने अधिकारी दम्पती प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । फूलखेतीबाट थोरै ठाउँमा मनग्य आम्दानी हुन थालेपछि विर्तामोडसहित अर्जुनधारा, भद्रपुर, मेचीनगर, गौरादहमा सयपत्री फूलको व्यावसायिक खेती हुने गरेको विर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराईले जानकारी दिनुभयो । झापामा अहिले महिला उद्यमी सङ्घले पनि विर्तामोड–४ मा डेढ बिघा जमीन लिजमा लिएर फूलखेती गर्दै आएको छ । गड्यौँले मलसमेत आफैँ बनाएर महिला उद्यमीले फूलखेती शुरु गरेको सङ्घका अध्यक्ष गोमा भट्टराईले बताउनुभयो ।
झापामा भारतबाट आयातित फूलको व्यापार फस्टाइरहेका बेला महिला उद्यमीले झापामा फूलको व्यावसायिक खेती गरेर मनग्य आम्दानी गरिरहेका छन् । झापामा वार्षिक झण्डै रु तीन करोडको फूल भित्रिने गरेको बताइएको छ । केही वर्षदेखि झापामै फूलको व्यावसायिक खेती हुन शुरु गरेपछि भारतबाट आयातित फूलमा समेत कमी भएको महिला उद्यमी सङ्घका अध्यक्ष भट्टराईले बताउनुभयो । रासस
News Desk 0 response बुधबार, माघ २२, २०७६

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पले नेतन्याहूलाई हप्काए, हिजबुल्लाह र इसराइलबीच आंशिक..
मङ्लबार, जेष्ठ १९, २०८३ -
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३
-
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३
-
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३



