• चितवन : हरेक पाँच-पाँच वर्षमा गरिने गैँडा गणना बजेट अभावमा अन्योलमा परेको छ । दाताहरूको भरमा गणना गरिँदै आएकोमा यस वर्ष बजेट अभाव भएको हो ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले निकुञ्जसँग काम गर्ने विभिन्न निकायसँग सहकार्य गरेर गैँडा गणना गर्दै आएका छन् । विभागका इकोलोजिष्ट तथा सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार युएसएआईडीको जल जंगल परियोजनाले गैँडा गणनामा आवश्यक सामग्री खरिद गर्ने सहमति भएकामा कार्यक्रम स्थगित भएपछि गणना प्रभावित भएको हो । परियोजनाले सूचना जारी गरी सामग्रीहरू खरिद प्रक्रिया समेत अघि बढाइसकेको थियो ।

    निकुञ्जभित्र गणनाका क्रममा आवश्यक जिपिएस उपकरण, ल्यापटप, खाना पकाउने ठूला भाडाहरू, टेण्टलगायतका बन्दोबस्तीका सम्पूर्ण सामग्रीको खर्च सोही परियोजनाले बेहोर्ने भएको थियो । “परियोजनाले रुण् ५० लाख बराबरको सामग्री दिने तयारी थियो । गणना सम्पन्न गर्न रु एक करोड ५० लाख हाराहारी बजेट खर्च हुने अनुमान गरिएको छ”, उनले भने ।

    जलजंगलसँगै विश्व वन्यजन्तु कोष नेपाल, जेडएसएल नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका संघ संस्थासँगको साझेदारीमा गणना गर्ने तयारी गरिएको थियो । उनका अनुसार आगामी चैतभित्रमा गणना गरिसक्नुपर्ने हुन्छ । चैत ५ गतेदेखि २५ गतेसम्म गणना गरेर वैशाखको पहिलो साता नतिजा सार्वजनिक गर्ने तयारी गरिएको थियो । उनले भने, “चैत महिना कटेपछि गणना गर्न सकिँदैन । कम्तीमा १० दिन पूर्वतयारी गर्नुपर्छ ।” अन्तिम समयमा आएर दातृ निकायको कार्यक्रम अन्योलमा परेपछि विभागको गणना कार्यक्रम प्रभावित हुने देखिएको उनले बताए ।

    विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले दाताको सहयोगको अन्योलताले अन्तिम तयारीका बेला गणना प्रभावित बनेको बताए । यस विषयमा मन्त्रालयमा छलफल गरेर बजेट प्राप्त हुन सकेमा काम हुने अन्यथा स्थगन गर्न बाध्य हुने उनको भनाइ छ ।

    आउँदो वर्ष बाघ गणना गर्नुपर्ने हुन्छ । दुवै कार्य एकै पटक सम्भव नहुने भएकाले यस वर्ष गैँडा गणना गर्न सकेमा अर्को वर्ष बाघ गणना गर्न सहज हुने उनको भनाइ छ ।

    गैँडाको अनुगमन भइरहेको भए पनि यकिन तथ्यांक र अवस्था पत्ता लगाउन गणना गर्ने गरिन्छ । सन् २०२१ मा गैँडा गणना गरिएको थियो । गणनासँगै कुन क्षेत्रमा कति गैँडा छन् यकिन हुने र व्यवस्थापनमा सहज हुन्छ ।

    चितवन, पर्सा, बर्दिया र शुक्ला फाँटामा राष्ट्रिय निकुञ्जमा एक सिंगे गैँडा छन् । तीमध्ये सबैभन्दा बढी चितवनमा छन् । सन् २०२१ को गणना अनुसार नेपालमा गैँडाको सङ्ख्या ७५२ पुगेको छ । एकसिंगे गैँडाको संख्या सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६९४ रहेको छ ।