• काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितहरूको समस्या अदालती प्रक्रियाबाट समाधान गर्नुपर्ने भएकाले सरकारले अदालतसँग समन्वय गरिरहेको बताएका छन् ।

    राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले टाठाबाठाहरूले पीडितलाई कपाली तमसुक बनाएर ऋण दिएको, बैंकको कागजातसमेत बनाएर ऋण दिएको देखिएको बताए । बैंकिङ कागजातसमेत बनाएर ऋण दिएको देखिएको भन्दै उनले अदालत जाँदा पीडकहरूकै पक्षमा फैसला हुनसक्ने अवस्था रहेको बताए । यो समस्याको समाधान गर्न सरकार र अदालत मिल्नुपर्ने अवस्था रहेकाले अदालतसँग समन्वय भइरहेको प्रचण्डको भनाइ छ । उनले मिटरब्याज पीडित, लघुवित्त पीडित तथा सहकारी पीडितहरूसँग वार्ता भइरहेको पनि जानकारी दिए ।

    उनले भने, ‘मिटरब्याज पीडितहरूको केही समस्या अझै बाँकी छ । बाँकी रहेको समस्याको समाधान सरकारको तर्फबाट भन्दा पनि अदालती प्रक्रियाबाट गर्नुपर्ने प्रकृतिको छ । टाठाबाठाहरूले कपाली तमसुक पनि बनाएका छन्, बैंकको कागजात पनि बनाएका छन् । यो सरकार, अदालत सबै मिलेर मात्रै यो समाधान गर्न सकिनेछ भनेर अहिले समन्वय गर्ने कोसिस भइरहेको छ ।’

    प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितहरूको समस्या समाधान गर्न सरकार गम्भीर रहेको पनि बताए ।