• काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारतको नयाँ दिल्ली पुगेका छन् ।

    प्रधानमन्त्री शाह नेपाल एअरलाइन्सको नियमित उडानमार्फत केहीबेरअघि इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन्। उनलाई विमानस्थलमा भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरे।

    प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायीलगायत छन्।

    भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नेछन्। साथै उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भोलि प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने तालिका छ ।

    भ्रमणका क्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न परियोजनाको उद्घाटन हुनेछ । यस्तै केही नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    भ्रमणका क्रममा दुवै देशका नेतृत्वबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायत क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ ।

    साथै भ्रमणका क्रममा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन, मानव संशाधन विकास जस्ता सहकार्यका विविध क्षेत्र समेटिएका विभिन्न समझदारीपत्र ९एमओयू० समेत आदानप्रदान गरिनेछन् । यसबाट दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा आपसी सहकार्य थप विस्तार हुने जनाइएको छ ।

    भ्रमणको पहिलो दिन आज प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा। एस जयशङ्करले शिष्टाचार भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाहले भोलि नयाँ दिल्लीको राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थलमा गई श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम छ ।

    प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण सम्पन्न गरी भोलि बेलुकी स्वदेश फर्कने तालिका छ ।