• काठमाडौं : विशेष अदालतले बहुचर्चित ललिता निवास जग्गा प्रकरणमा तीन पूर्वमन्त्रीले सफाइ पाएका छन् ।

    ललिता निवासको जग्गा व्यक्तिका नाममा दर्ता गर्ने निर्णयमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतले त्यसको कसुरदारमा कर्मचारीमा मात्र सीमित भएको हो ।

    विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले तत्कालिन भौतिक पूर्वाधारमन्त्री विजयकुमार गच्छदार, भूमसुधार मन्त्रीहरु डम्बरबहादुर श्रेष्ठ र चन्द्रदेव जोशीलाई सफाइ दिएको छ ।

    पशुपति टिकिन्छा गुठीको जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा मुछिएका तत्कालिन सचिव दिनेशहरि अधिकारीले समेत सफाइ पाएका छन् ।

    जग्गा अनियमितता गरेको आरोपमा तत्कालिन भौतिक पूर्वाधार मन्त्रालयका सचिव दीप बस्न्यात र भूमिसुधार मन्त्रालयका सचिव छविराज पन्त भने दोषी ठहर भएका छन् ।

    त्यसैगरी भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पनि दोषी ठहर भएका छन् । विशेष अदालतले भाटभटेनीका सञ्चालक गुरुङलाई २ वर्ष कैद र ८० लाख जरिवानाको सजाय सुनाएको छ । अदालतले गुरुङसहित रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई पनि सोही सजाय तोकेको छ ।