सर्लाही : जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । नगर अस्पतालकाे विषयमा विवाद हुँदा एक जनाको ज्यान गएको र तनाव बढ्दै गएकोले आज शुक्रवार बेलुका साढे ५ बजेदेखि भोलि शनिवार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए।
बरहथवा नगरपालिकामा नगर अस्पताल सञ्चालनको विषयमा झडप हुँदा आज दिउँसो बरहथवा नगरपालिका–६ का जयशंकर साहको ज्यान गएको थियो । अस्पतालको भवन स्वामित्वको विषयमा असन्तुष्ट स्थानीयले नगरपालिका कार्यालय घेराउ गरेपछि प्रहरीले रोकेको थियो । स्थानीयलाई प्रहरीले रोकेपछि झडप भएको हो ।
निर्माण सम्पन्न हुन लागेको अस्पताल भवन मधेस प्रदेश सरकारले चलाउने कि नगरपालिकाले भन्ने विषयमा विवाद भएको हो । यो विषयमा विवाद भएपछि आजका लागि नगरपालिकाले सर्वदलीय बैठक पनि राखेको थियो । तर तनावको स्थिति देखिएपछि सर्वदलीय बैठक स्थगित गरेको नगरपालिकाले सूचना निकालेर जानकारी गराएको थियो ।
नगर अस्पताल नगरपालिकाले नै चलाउनुपर्ने माग स्थानीयको छ । स्थानीयले आज बजार बन्दसमेत गराएका थिए । प्रदर्शनकारीहरूले मेयर कल्पनाकुमारी कटुवालको घरमा आगजनीको प्रयास गरेपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको प्रहरीले बताएको छ । बरहथवा क्षेत्रको अवस्था अहिले पनि तनावग्रस्त रहेको छ ।