• काठमाडौं : मेलम्ची खानेपानी आयोजना मर्मतको ७० प्रतिशत काम सम्पन्न भएको छ । बर्खामा बाढीले क्षति गरेको संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम भैरहेको छ ।

    बाढीले सिन्धुपाल्चोकको हेलम्बु–१ अम्बाथानमा रहेको मुहानस्थलमा क्षति गरेपछि मेलम्चीको पानी आउन सकेको छैन । आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर पदमबहादुर कुँवरका अनुसार अब गर्नुपर्ने बाँकी काम केही कठिन छ । तर अबको १० दिनभित्र सक्ने गरी काम भैरहेको इञ्जिनियर कुँवरले जानकारी दिए । अहिले ४५ जना कामदारले काम गरिरहेका छन् ।

    बाढीले हेडवर्क्सको संरचनालाई क्षति गरेपछि सुरुङमा पसेको ढुङ्गा, गिट्टी र बालुवा झिक्ने काम भैरहेको छ । बाँकी ३० प्रतिशत काम अबको १० दिनमा सकिए माघको पहिलो हप्ताभित्र काठमाण्डौमा अस्थायीरुपमा पानी आइपुग्नेछ ।

    खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले दीर्घकालीन रुपमा मेलम्चीको पानी काठमाण्डौमा निरन्तर झार्ने गरी काम भइरहेको बताए ।