

-
झापा । भारतको दार्जिलिङ, सिक्किममा हुने कार्यक्रममा नौमती बाजाको माग हुन थालेपछि झापाली महिलाको टोली पटक–पटक पुग्न थालेका छन् । महिलाको बाजाको टोली ती ठाउँमा पुगेर उत्कृष्ट बाजा बजाएबापत पुरस्कारसमेत प्राप्त गर्न थालेपछि उनीहरूको मनोबल बढेको छ ।
झापामा नौमती बाजा घन्काउने महिलाको दुई दर्जनभन्दा बढी टोली तयार भइसकेका छन् । तीमध्ये ‘आर्ट स्टुडियो महिला नौमती बाजा’ को टोली भारतको सिक्किम, दार्जिलिङ र कोलकता पुग्न थालेको हो ।
विवाह, व्रतबन्ध, गुन्यूचोली, पुराण, उद्घाटन र साधारणसभालगायत कार्यक्रममा एउटै पहिरनमा सजिएका महिला टोलीले नौमती बाजा घन्काउँदै गरेको रोचक दृश्य झापामा अहिले बाक्लै देख्न पाइन्छ । बिर्तामोड नगरपालिका–२ की शान्तादेवी पौडेलको नेतृत्वमा झापामा महिलाको नौमती बाजा बजाउने पहिलो टोली बनेको थियो ।
पाँच वर्षअघि पश्चिम नेपालमा एउटी महिलाले नर्सिङा बाजा फुकेको देखेपछि आफूलाई महिलाको अलग्गै टोली बनाउने रहर जागेको पौडेलले बताइन् । ‘त्यस बेला मेरो नेतृत्वमा गाउँका महिला नाटक खेल्ने गर्थे । रुवा र खरानीको धागोजस्ता राम्रा नाटकमा उत्कृष्ट अभिनय गरेसँगै बिर्तामोडलगायत झापाका विभिन्न ठाउँमा नाटक मञ्चन गरेका थियौँ । पछि त्यही टोली महिला कलाकारका रूपमा परिचित बनेको थियो’, उनले भनिन्।
त्यही टोलीलाई समेटेर शान्ताले नौमती बाजा बजाउने समूह खडा गरिन् । आवश्यक तामिल लिएपछि बिर्तामोड–नं २ का तत्कालीन वडाध्यक्ष नगेन्द्र सङ्ग्रौलाले टोलीलाई बाजा किन्न डेढ लाख रुपैयाँ बजेट दिएका संस्थाकी अध्यक्ष पौडेलले जानकारी दिइन् । उनका अनुसार नमुना काम भन्दै कनकाई नगरपालिकाले पनि बाजा किन्नका लागि ३० हजार रुपैयाँ थपिदिएको थियो ।
केही नयाँ काम गरौँ भन्ने शान्ताको त्यही हुटहुटीले झापामा महिला मात्र रहेको पहिलो नौमती बाजा बजाउने टोलीको जन्म भयो । उनीहरूले टोलीलाई संस्थागत गर्दै ‘आर्ट स्टुडियो महिला नौमती बाजा संस्था’ दर्ता गरेकी छन् । पौडेलका अनुसार टोलीमा १४ जना सबै महिला सदस्य छन् । समूहमा नौमती बाजामा चाहिने दमाहा, टेम्को, बाम्ताल, झ्याम्टा, ढोलक, सनाई र नर्सिङा रहेका उनले जानकारी दिइन् ।
विभिन्न कार्यक्रममा समूहले निश्चित शुल्क लिएर बाजा बजाउँदै आएको पौडेलले बताए । उनका अनुसार अवधि र अवस्था हेरेर शुल्क निर्धारण हुन्छ । एउटा कार्यक्रममा बाजा बजाएबापत बढीमा दुई लाख रुपैयाँसम्म शुल्क पाउने गरेको संस्थाकी कोषाध्यक्ष गोमादेवी विमलीले जानकारी दिइन् । उनका अनुसार एउटा कार्यक्रमबापत टोलीले नेपालमा १५ हजारदेखि ३० हजार रुपैयाँसम्म शुल्क लिने गरेको छ ।
भारतमा भने ५० हजार भारु शुल्क निर्धारण गरिएको विमलीले जानकारी दिइन् । ‘केही समयअघि जिल्लामा महिलाले नौमती बाजा बजाउँछन् भन्ने थाहा पाएपछि दार्जिलिङका एक जना सैनिक जर्नेलले आफ्नो छोराको बिहेमा बाजा बजाउने टोली झिकाएका थिए । ‘दार्जिलिङबाट कोलकातामा जन्ती जाँदा ५० हजार भारु दिने सहमति भएको थियो’, उनले भने, ‘हामीले नौमती बजाएको मन पराएर उनहरूले डेढ लाख भारु दिए ।’
बाजा बजाउन आमन्त्रण गर्नेहरूले टोली र बाजा बोक्नका लागि गाडी भाडा बेहोर्ने गरेको विमलीको भनाइ थियो । उनका अनुसार काठमाडौंमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी चढाउँदा झापाको यही टोलीले नौमती बाजा बजाएको थियो । त्यो बेला बाजा बजाएबापत एक लाख रुपैयाँ शुल्क दिइएको उनले जानकारी दिइन् ।
भारतको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले एउटा कार्यक्रममा नौमती बजाउन उनीहरूको टोलीलाई निमन्त्रणा गरेका थिए । तामाङले महिलाको नौलो र राम्रो काम भनेर प्रशंसा गर्दै एक लाख भारु पुरस्कार दिएका थिए । टोलीले चर्चित टेलिभिजन कार्यक्रम इन्द्रेणीमा बाजा बजाउँदै दोहोरीसमेत खेल्ने अवसर पाएको थियो ।
संस्थाकी अध्यक्ष शान्तादेवी पौडेलले नौमती बाजा बजाउन शुरु गर्दा आफू र आफ्ना साथीले पारिवारिक र सामाजिक असहयोग खेप्नुपरेको बताइन् । दलितले मात्र बजाउने बाजा भनेर अपहेलना गर्न खोजिए पनि आफूहरूले बलियो आत्मविश्वास र लगनका साथ डटेर सामना गरेको उनले अनुभव सुनाइन् ।
‘यस्तो बाजा पनि महिलाले बजाउने भनेर परिवारका सदस्यबाटै साथीहरूले अवहेलना भोग्नुपर्यो’, अध्यक्ष पौडेलले सङ्घर्षका दिन सम्झिँदै भनिन्, ‘शुरुमा कसैले पनि साथ दिएनन् । तथापि हामी पछाडि हटेनौँ । अहिले चाहिँ प्रशस्त आम्दानी र सामाजिकरूपमा प्रशंसा हुन थालेपछि परिवारका सदस्य खुशी छन् ।’
टोलीका सदस्यहरूले घरको कामधन्धा छाडेर बाजा बजाउन जाने भएकाले सङ्कलन भएको आम्दानीको ९० प्रतिशत बाँडेर लिने गरेका छन् । दश प्रतिशत आम्दानी चाहिँ संस्थाको कोषमा जम्मा गर्दै आएको कोषाध्यक्ष विमलीले बताइन् ।
लोकभाका र चल्तीका जुनसुकै गीतमा सुमधुर धुन निकाल्ने महिलाको नौमती टोलीलाई अचेल कार्यक्रममा भ्याइनभ्याइ छ । व्यावसायिकरूपमा शुल्क लिने भएकाले आयआर्जनका दृष्टिले प्रशस्त आम्दानीको स्रोत बनेको छ भने सामाजिकरूपमा पनि प्रशंसा हुन थालेको छ । यसरी महिलाले नौमती बजाएर कला, संस्कृतिको संरक्षण हुनुका साथै यस क्षेत्रको पहिचानमा योगदान पुगेको स्थानीय बताउँछन् ।–रासस
News Desk 0 response शनिबार, पुस ७, २०८०

सम्बन्धित शीर्षकहरु
-
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३ -
गगन थापा नेतृत्वको नेपाली कांग्रेस निर्वाचन आयोगबाट..
बुधबार, मंसिर १०, २०८३ -
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३
-
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३ -
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


