• लुम्बिनी भ्रमणमा आएका चिनियाँ उपमन्त्री वाङ रुईजुनसँग चीनको ग्वाङजाउबाट नेपालको भैरहवासम्म सिधा उडान सञ्चालन गर्न आग्रह गरिएको छ ।

    उपमन्त्री रुईजुन नेतृत्वमा रहेको ११ सदस्यीय चिनिया प्रतिनिधि मण्डल र लुम्बिनी विकास कोष पदाधिकारीको थाई विहारमा आयोजित शिष्टाचार भेटघाट कार्यक्रममा उपाध्यक्ष ल्याहारक्याल लामाले सातामा दुई पटक ग्वाङजाउ भैरहवा हवाई यातायातका माध्यमबाट जोडन आग्रह गरेका हुन् ।

    यसले शान्तिका अनुयाई चिनियाहरुको लुम्बिनी आवागमन सहज बन्ने उपाध्यक्ष लामाको भनाई थियो । त्यसअवसरमा ग्वाङजाउ(भैरहवा विमान संचालन गर्न सक्दो सहयोग गर्ने चिनिया उपमन्त्री रुईजुनले बताए । चीनको दक्षिणमा पर्ने ग्वाङजाउ ठूलो ब्यापारिक सहर हो ।

    श्री एलयलाईन्सको जहाज चाटर्ड गरेर काठमाडौंबाट भैरहवा पुगेका उपमन्त्री रुईजुनले मायादेवी मन्दिर अवलोकन गरेका थिए । त्यसअवसरमा उनलाई कोषका वरिष्ठ प्रशासकिय अधिकृत ज्ञानीन राईले मायादेवी मन्दिर, अशोक स्तम्भ, पुष्करणी पोखरीको पुरातात्विक, ऐतिहासिक र सास्कृतिक महत्वबारे जानकारी दिएका थिए ।