• १० मंसिर, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभामा प्रतिस्थापन विधेयकबाट आएको बजेट पूर्णरूपमा कार्यान्वयन हुने बताएका छन् ।

    आइतबार आर्थिक मामिला तथा योजना मन्त्रालयमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले बजेट कार्यान्वयनमा कुनै शंका नगर्न आग्रह गरे ।

    आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारीमा रहेका मुख्यमन्त्री कार्कीले चालु आर्थिक वर्ष २०८०/८१ का लागि बजेट अध्यादेश प्रतिस्थापन विधेयक शनिबारको प्रदेश सभा बैठकमा पेश गरेका थिए । अध्यादेशमा रहेको भन्दा ५० करोड आकार बढाउँदै उनले ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट पेश गरेका थिए ।

    आइतबार पत्रकारहरुसँगको भेटमा मुख्यमन्त्री कार्कीले बजेट भौतिक विकासमा मात्र केन्द्रित नरहेको उल्लेख गरे । प्रतिस्थापन विधेयकले मानवीय विकासलाई समेत जोड दिएको बताउँदै उनले भने, ‘प्रस्तुत कार्यक्रमहरू विधेयक पास भएको भोलिपल्टदेखि कार्यान्वयनमा जान्छ । समुन्नत प्रदेशका लागि हामीले पाइला चालिसकेका छौं ।’ बजेट कनिकासरी नछरिने भन्दै उनले अब योजना आयोगले तय गरेका कामहरू प्राथमिकता र योजनाबद्ध तवरले हुने बताए ।