• काठमाडौँ, १३ कात्तिक : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनको असरका रूपमा पर्यावरण र मानव समुदायमा नाटकीय परिवर्तन देखिन थालेको बताएका छन् ।

    सगरमाथा क्षेत्रको अवलोकनका लागि उहाँ आज बिहान सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ पुग्नुभएको थियो । उक्त क्षेत्रको अवलोकनका क्रममा सामाजिक सञ्जाल एक्समार्फत भिडियो सन्देश दिँदै महासचिव गुटेरेसले जलवायु परिवर्तन रोकथामका लागि विश्व समुदायलाई आग्रह गरेका छन् ।

    “म अहिले यहाँ हिमालयमा छु । जहाँ हिमाल पग्लिरहेका छन् र हिमनदीहरू रेकर्ड लेभलमा छन् । अन्टार्टिका र ग्रीनल्याण्डमा जस्तै यहाँ पनि जलवायु परिवर्तनको गम्भीर असर देखिइरहेका छन्”, गुटेरेसले भने, “हामीले बाढी पहिरो देख्नुपरेको छ । यहाँको समुदाय नाटकीयरूपमा प्रभावित भइरहेको छ । हामीले यसलाई रोक्न जरुरी छ ।”

    जलवायु परिवर्तनका असरले हिमालय क्षेत्रको पर्यावरण र जनजीवनमा देखिन थालेका असर तथा त्यसको रोकथामका लागि आफूले विश्वसमुदायको ध्यानाकर्षण गराउन चाहेको उहाँले उल्लेख गरेका छन् । “हामीले बढ्दो तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्रीमा सीमित गर्नसक्नुपर्छ । यसबाट हामी पछि हट्न सक्दैनौँ”, उहाँले भिडियो सन्देशमार्फत् भनेका छन् ।