• आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारबीच सहमति भएको छ । प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको पद रहने व्यवस्था गर्ने सहमति पनि भएको छ । दुवै पक्षबीच संघ प्रदेश र स्थानीय तहमा तहगत प्रणाली लागु गर्ने सहमति पनि भएको छ । सहमतिपत्रमा संघीय मामिला मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई र संघर्ष समितिका संयोजक दीपक गौतमलगायतले हस्ताक्षर गरेका छन् । सहमतिसँगै कर्मचारीले आन्दोलन फिर्ता लिएका छन् ।

    संघीय निजामती ऐनको सट्टा एकीकृत सेवा जारी गर्नुपर्नेलगायत १९ बुँदे मागसहित दुर्इ सातादेखि कर्मचारीहरु काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका थिए । तर, उक्त बुँदामा भने ऐनमै संघ, प्रदेश र र स्थानीय तहका कर्मचारीहरूको सेवा र सर्तका विषयमा न्यूनतम मापदण्ड तय गर्ने गरी सहमति भएको छ ।

    त्यसबाहेक स्थानीय सेवाका स्थायी कर्मचारीहरूलाई निजामती कर्मचारीका रूपमा परिभाषित गर्ने व्यवस्थाका लागि प्रदेश कानुन निर्माणताका पहल गर्ने सहमति भएको छ ।