• संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीले गरेका निर्णय नै कार्यान्वयन हुन सकेका छैनन । उनले गरेका निर्णय मातहत तथा अन्य कार्यालय कसैले पनि चासो देखाएका छैनन । लोकप्रियताका लागि निर्णय गर्ने तर, कार्यान्वयन गर्न नसक्ने आरोप मन्त्री अमनलाला मोदीलाई लागेको छ । बिभिन्न कार्यालयको कर्मचारीको विवरण पठाउन सामान्यले सुरुदेखि नै परिपत्र गर्दै आएको छ र मन्त्रालयको यस निर्देशनलाई अन्य मन्त्रालय, विभाग तथा निकायहरूले टेरेका छैनन्।

    मन्त्रालयले अहिलेसम्म पाँचपटक परिपत्र गरिसकेको छ। तर मन्त्रालयको परिपत्रलाई अन्य मन्त्रालय तथा कार्यालयहरूले बेवास्ता गर्दै आएका छन्। १७ वटा मन्त्रालय तथा ४० वटा विभिन्न निकायले सामान्यको चिठीलाई बेवास्ता गर्दै धोती लगाईदिएका छन् ।

    मन्त्रालयले कार्यालयमा कार्यरत सबै कर्मचारीको दरबन्दी, पदपूर्ति अवस्था, काजमा रहेका कर्मचारीको स्थितिलगायत विषयमा विवरण पठाउन ताकेता गर्दै आएको छ। मोदी सामान्य प्रशासनमन्त्री भएलगत्तै उनले यस्तो परिपत्र गरेका थिए। त्यसपछि करिब एक सातापछि अर्को परिपत्र गरेका थिए। तर जतिपटक परिपत्र गरे पनि सामान्यको चिठीलाई अन्य मन्त्रालयहरूले गम्भीर रूपमा लिएका छैनन्।


    त्यसोत सामान्यमा आउनेबित्तिकै मन्त्री मोदीले यही साउनभित्र ‘निमित्त’ निमट्यान्न पार्ने घोषणा गरेका थिए। मन्त्रालयले गरेको पत्रकार सम्मेलनमै उनले यस्तो प्रतिबद्धता गरेका थिए। मन्त्रालयका अनुसार अहिले पनि १४२ स्थानीय तह निमित्तले चलाएका छन्। सचिवालयले भने मोदी सामान्यमा आउनुअघि ३५३ स्थानीय तह निमित्तले चलाएकोमा अहिले त्यो संख्या घटेर १४२ मा पुगेको दाबी गरेको छ। लोकसेवा आयोगबाट सिफारिस भएका ८० नयाँ शाखा अधिकृतलाई विभिन्न स्थानीय तहमा पठाउँदा त्यो संख्या झनै घट्ने अनुमान थियो ।

    मन्त्रालयले यही वैशाखमा परिपत्र गरी मन्त्रालय तथा अन्य निकायहरूमा पदस्थापन गरिएका, सरुवा गरिएका, काजमा खटाइएका तथा काज फिर्ता गरिएका कर्मचारीलाई रमाना दिई सात दिनभित्र जानकारी गराउन निर्देशन दिएको थियो।

    सरकारले खटाएका र सरुवा गरेका ठाउँमा हाजिरी गर्न नजाने, रमाना नबुझ्ने, अटेर गर्दै एउटै कार्यालयमा वर्षौंवर्षदेखि बस्ने प्रवृत्ति कायमै छ। यो प्रवृत्ति रोक्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, कार्यालय, आयोग, प्रदेश कार्यालय, विभाग तथा स्थानीय तहलाई यस्तो परिपत्र गरिएको थियो। सरुवा गरेको ठाउँमा सात दिनभित्र नपुगे विभागीय कारबाही गर्ने चेतावनी मन्त्रालयले दिएको छ। खटाएको ठाउँमा नपठाउने तथा रमाना नदिने कार्यालय प्रमुखहरूलाई समेत विभागीय कारबाही गर्ने चेतावनी दिइएको थियो। मन्त्रालयका एक कर्मचारीका अनुसार अहिले पनि सरुवा गरेका ठाउँमा नजाने कर्मचारीको संख्या झन्डै १ हजारको हाराहारीमा छ।

    खासगरी आकर्षक मानिएका कार्यालयहरूमा वर्षौंदेखि बस्दै आएका कर्मचारीहरू नयाँ कार्यालयमा जानुपर्‍यो भने विभिन्न बहाना देखाउँदै सरुवा गरिएको ठाउँमा जान मान्दैनन्। केही ठाउँमा कार्यालय प्रमुखसँगको मिलोमतो कारण नयाँ ठाउँमा जान मान्दैनन्। सरकारले खटाएका ठाउँमा नपठाउन र साबिकै कार्यालयमा राख्न कार्यालय प्रमुख, विभागीय प्रमुख तथा अन्य मन्त्रालयका सचिवहरूले समेत प्रोत्साहन गर्ने गरेको मन्त्रालयका अर्का एक कर्मचारीले बताए।

    ‘स्थानीय तहमा मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, मन्त्रालयमा सचिव तथा अन्य कार्यालयहरूमा कार्यालय प्रमुखहरूले सकेसम्म आफूनिकट कर्मचारीलाई अन्य कार्यालयमा पठाउन मान्दैनन्। सरकारले सरुवा गर्‍यो भने रमाना दिन मान्दैनन्,’ ती कर्मचारीले भने। कार्यालय प्रमुखको विभिन्न स्वार्थले यस्तो समस्या देखिएको ती कर्मचारीको भनाइ छ।