• चीनले विदेशमन्त्री किन काङलाई पदबाट हटाएको छ । गएको जुन महिनादेखि सार्वजनिक रूपमा नदेखिएका काङलाई पदबाट हटाइएको चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ ।

    उनी सात महिनाअघि मात्रै विदेशमन्त्रीमा नियुक्त भएका थिए । काङलाई विदेशमन्त्रीबाट हटाएपछि पूर्व विदेशमन्त्री वाङ यीले नै जिम्मेवारी सम्हालेको खबरमा उल्लेख छ । वाङ यी सफल विदेशमन्त्री र राष्ट्रपति सी जिनपिङको भरपर्दो विश्वासपात्र मानिन्छन् ।

    उनलाई पदबाट हटाउनुको कारण भने खुलाइएको छैन। तर राष्ट्रपति सीको निर्देशनमा काङलाई पदमुक्त गरिएको सिन्ह्वाको समाचारमा जनाइएको छ।

    चीनको कम्युनिस्ट पार्टीको प्रचलनअनुसार चीनको विदेशनीति उच्च तहका अधिकारीले निर्माण गर्छन् र विदेशमन्त्रीलाई त्यसको कार्यान्वयन गर्न निर्देशन दिइन्छ।

    चीनको इतिहासमा विदेश मन्त्रीको पदमा नियुक्त हुने उनी कम उमेरका व्यक्तिमध्यमा पर्दछन्।

    दुई वर्षभन्दा कम समय अमेरिकामा चीनको राजदूतका रूपमा काम गरेपछि उनी विदेश मन्त्रीमा नियुक्त भएका थिए।

    त्यसअघि उनी विदेश मन्त्रालयका प्रवक्ता थिए। चिनियाँ राष्ट्रपतिका विदेश भ्रमणहरू व्यवस्थापन गर्न सघाएका कारण उनलाई चिनियाँ नेतासँग निकट रहेर काम गर्ने अवसर मिलेको थियो।