• जुम्ला : जुम्लामा वडाबाटै नुन वितरण सुरु भएको छ । नुन नपाइएको भन्दै उपभोक्ताले साल्ट ट्रेडिङ कर्पोरेशन कार्यालयमा तोडफोड गरेपछि वडाबाटै नुन वितरण  गरिएको हो ।

    साल्ट ट्रेडिङ कार्यालयले वडामा नुन पठाउन शुरु गरेपछि वडा कार्यालयले वितरण गर्न थालेका हुन् । तातोपानी गाउँपालिका–२ का वडाध्यक्ष चन्द्रमान बुढाले वडाबाटै प्रतिघरधुरीलाई तीन केजी नुन वितरण गरेको बताए । उनका अनुसार साल्ट ट्रेडिङ कार्यालयले १५ क्विन्टल नुन उपलब्ध गराएको नुन वितरण गरिएको हो ।

    कार्यालय प्रमुख खगेन्द्र मल्लले तातोपानीका १ देखि ७ नम्बर वडा, चन्दननाथको १, ७, ८ र ९ तथा गुठीचौरका २ र ४ वडाले प्रतिघरधुरी तीन केजी पर्ने गरी बुझेका बताए । प्रमुख मल्लका अनुसार अहिलेसम्म झन्डै तीन सय क्विन्टल नुन वडाबाट वितरण गर्न लागिएको छ ।

    प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले उपभोक्ताले नुनका लागि भिडमा लाग्नुपर्ने बाध्यता हटाउन वडाबाट नुन वितरण गर्न निर्देशन दिएको बताए । साउने सङ्क्रान्तिका लागि गएको असार ३१ गते नुन लिन कार्यालयमा गएका उपभोक्ताले नुन नपाएको भन्दै ढुङ्गामुढा गरेर कार्यालय तोडफोडको प्रयास गरेका थिए ।