• काठमाडौं ।
    रसुवागढी नाका आईतवारदेखि दुईतर्फी आवतजावत हुने भएको छ । तर, नेपाली पक्षले चिनतर्फ जान सिण्डिकेट लागू गर्दा समस्या भएको छ ।

    दुवैतर्फ आवतजावतमा सहज भएपनि रसुवा जिल्लाका मानिसमात्र चिनतर्फ प्रवेश गर्ने नेपाली प्रशासनको नियम भएका कारण व्यवसायी समस्यामा परेका हुन् । त्यसोत लोड भएका सामान लिनसमेत अन्य जिल्लाका चालकलाई नाका प्रवेशमा रोक लगाईएको छ ।

    जसले गर्दा व्यवासयीहरु थप झन्झट व्योहोर्न व्याध्य छन् । नाका सहज भएसँगै चीन बाट आएका सामान छुटाउन नाका पुगेका व्यवसायी मुके शेर्पा आफै सामान लिन चीनतर्फ जान नपाएपछि समस्यामा परेका बताउँछन् । उता सामान आएर वसेको छ । खरिद गरेर ल्याएको लाखौं रुपैयाँका सामान हेर्न पनि नपाई ल्याउनु पर्ने वाध्यतामा व्यवसायीहरु रहेका छन् । स्थानीय प्रशासनले र केही सामाजिक संस्थाको उक्सावटमा यो नियम लागू भएको व्यवसायीहरु बताउँछन् ।

    चीन बाट नेपाली कन्टेनरमा ल्याईएको सामान नेपाल प्रवेश गराउन रसुवाकै नागरिकता भएको चालक खोज्नु पर्ने झन्झटमा व्यवसायीहरु छन् । त्यसोत रसुवाको नागरिकता भएका चालक कम भएका कारण छोटो समयका लागि धेरै पैसा तिरेर चालक खोज्नु पर्ने अवस्थामा व्यवसायीहरु छन् । नाकामा रहेका सुरक्षाकर्मीहरु भने पहिलेदेखि नै यही नियम रहेका कारण आफूहरुले केही गर्न नसक्ने बताउँछन् ।

    रसुवागढी नाकाबाट आंशिक रुपमा आयात निर्यात भएपनि ३८ महिनादेखि मानिसको आवागमन भने ठप्प थियो । नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको ल्हासामा गत बुधबार सम्पन्न बैठकले आयातनिर्यात गर्ने सहमति गरेपछि दुईतर्फी रुपमा मानिसको आवतजावतसहित रसुवागढी नाका पूर्णरुपमा सञ्चालनमा आएको हो ।

    सन् २०२३ अप्रिल १ (चैत १८ गते) देखि रसुवागढीबाट निकास पैठारी र मानिसको आवतजावतसहित पूर्णरुपमा सञ्चालन गर्ने सहमति भएको छ । बैठकमा नेपाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङ्छीले प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।

    । निकास पैठारी र मानिसको आवतजावतको लागि नाकामा तयारी तीव्र पारिएको छ । कन्टेनर चालक, कामदार, व्यापारी तथा व्यावसायीको ऐटिन्जेन परीक्षण गरिएको छ । नाकामा आवतजावत गर्ने १ सय ९६ जनाको शुक्रबार ऐटिन्जेन परीक्षण गरिएको थियो । तर, रसुवा बाहिरका मानिसहरुलाई भने परिक्षण पछि पनि प्रवेश अनुमति दिईएको छैन । चिनियाँ पक्षले कुनै रोकतोक नगरेपनि नेपाली पक्ष वाट यो समस्या खडा गरिएको व्यवसायी शेर्पाले बताए । चिनियाँ पक्षले भने एन्टिजेन परिक्षण गरेका जोकोही पनि प्रवेश पाउन व्यवस्था मिलाएको छ ।

    केरुङ जानको लागि नेपाल–चीन सीमा पास नवीकरण तथा नयाँ बनाउन सकिने छ ।
    २०७६ माघ १५ देखिनै रसुवागढी नाका भएर चीनबाट हुने आयात तथा निर्यात प्रभावित भएको थियो । सुरुमा हिमपात र ल्होसार पर्वका कारण आयात निर्यात बन्द भएको थियो । पछि कोरोना भाइरस (कोभिड–१९) देखा परेपछि रसुवागढी नाका भएर चीनबाट हुने आयात निर्यात थप प्रभावित भएको थियो ।

    साढे पाँच महिना भने कोरोना महामारीका कारण नाका ठप्प रह्यो । आयात निर्यात ठप्प रहेको साढे पाँच महिनापछि २०७७ असार २२ गतेबाट पुनः सामान आयात सुरु भए पनि निर्यात भने ठप्प थियो । कोरोना महामारीका कारण रोकिएको सामान निर्यात भने ३५ महिनापछि गत पुस १२ गतेदेखि खुलेको थियो । मानिसको आवतजावत भने ३८ महिना देखिनै ठप्प थियो ।

    अहिले नाकाबाट दैनिक चिनियाँ १४ कन्टेनर मात्र सामानआयात भइरहेको छ । अब भने आयात हुने कन्टेनरको संख्या पनि बढ्ने छ ।
    चीनबाट हुने धेरैजसो आयात २०७२ मंसिरदेखि यही नाकाबाट हुँदै आएको छ । रसुवागढी नाका चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो । नेपालबाट चीनतर्फ बाँसको मुडा, अम्लिसो, मैदा, डाल्ढा घिउ, चाउचाउ, पास्ता, बिस्कुट, जुस, जाम, चिउरा, लप्सीको क्याण्डी, चकलेट, सख्खर, चुइगम लगायतका वस्तु निर्यात हुने गर्दछ ।