• काठमाडौं : आज राति अल बयात रंगशालामा मोरक्कोको सामना गर्दा फ्रान्सले जित्ने धेरैले अपेक्षा गरेका छन् । फ्रान्सको यो सातौँ विश्वकप सेमिफाइनल हो । पहिलो तीनवटामा पराजित हुँदा टोलीले सन् १९९८, २००६ र २०१८ मा जीत हासिल गरेको थियो ।

    डेस्च्याम्पको टोलीले ‘साबिक विजेताको श्राप’ लाई तोडे पनि अब ठुलो महत्त्वकांक्षालाई पुरा गर्न बाँकी रहेको छ । ‘हामी फाइनलको नजिक सेमिफाइनलसम्म पुगेका छौँ । यो ठुलो उपलब्धिपछि हामीले आफूमाथि विश्वास गर्न सक्छौँ । तर बुधबार हाम्रो लागि ठुलो चुनौती बाँकी नै छ,’ उनले भने, ‘हामी अझै माथि जान चाहन्छौँ । यद्यपि, हामी अहिलेसम्म हासिल गरेको कुराले सन्तुष्ट छौँ । यसअघि साबिक विजेताले विश्वकपमा राम्रो प्रदर्शन गर्न सकिरहेका थिएनन् । हामीले उक्त चुनौती पार गरेका छौँ ।’

    फ्रान्सको काँधमा अपेक्षाको ठुलो भारी रहँदा यता मोरक्को भने निडर भएर सेमिफाइनलमा प्रवेश गर्दैछ । टोलीले सेमिफाइनलसम्मको यात्रा गर्दा स्पेन र पोर्चुगलजस्ता महारथी टोलीहरूलाई हराएको थियो । डेस्च्याम्प मोरक्कोले दिन सक्ने चुनौतीको बारेमा जानकार छन् । ‘उनीहरूले हासिल गरेको उपलब्धि अद्भूद छ,’ उनले भने, ‘मोरक्कोले राम्रो टोलीहरूलाई हराउँदै यहाँसम्म आइपुगेको छ ।’

    वालिद रारागुईको नेतृत्वमा मोरक्को विश्वकपमा ६ वटा खेलमा अपराजित रहेको छ । कुनै पनि अफ्रिकी राष्ट्रका लागि रेकर्ड हो ।