• अपर बेलफी–ए जलविद्युत आयोजनाले उत्पादन थालेको छ। ३६ मेगावाट क्षमताको आयोजनाको प्राविधिक परीक्षण सफल भएपछि आयोजनाले उत्पादन थालेको हो।

    बलेफी हाइड्रोपावर लिमिटेडको अगुवाइमा झण्डै पाँच वर्ष लगाएर हालै मात्र यो आयोजना निर्माण सम्पन्न भएको थियो। ‘उत्पादित विद्युत राष्ट्रिय प्रशारणलाइनमा जोडिसकेका छ । कम्पनीका कार्यकारी अध्यक्ष उमेश कसजूले लिमिडेटले आफ्नै लगानीमा एक सय ३२ केभिए क्षमताको २२ किलोमिटर लामो प्रशारण लाइन निर्माण गरेको बताए ।

    ब्रह्मायणी नदीको गोल्चे र गुम्बामा बाँध रहेको आयोजनाको उत्पादनगृह गोल्चेको बैकुण्ठेमा निर्माण गरिएको छ। बाँध र उत्पादनगृहलाई चार हजार तीन सय मिटर भूमिगत सुरुङले जोडेको आयोजनाले जनाएको छ। आयोजनाले हाल ३२–३३ मेगावाट विद्युत उत्पादन गरिरहेको छ।

    २०७४ बाट आयोजना निर्माण थालिएको थियो। आयोजना निर्माणमा झण्डै ७ अर्ब रुपैयाँ लगानी भएको छ । ७० प्रतिशत बैँक ऋण र ३० प्रतिशत कम्पनीले व्यहोरेर लगानी जुटाइएको हो। आयोजना निर्माणमा ग्लोबल आइएमइ बैँकको नेतृत्वमा नेपाल वाणिज्य बैँक, एभरेष्ट बैँक र सानीमा बैँकले ऋण लगानी गरेका छन्।

    २०७० मा लिमिटेड र प्राधिकरणबीच विद्युत खरिद सम्झौता (पिपिए) भएको थियो। सम्झौता अनुसार प्राधिकरणले प्रतियुनिट हिउँदमा आठ र वर्षामा चार रुपैयाँका दरले विद्युत खरिद गर्नेछ। आयोजनाले स्थानीय प्रत्यक्ष प्रभावितका र सर्वसाधरणका लागि १८,१८ करोड रुपैयाँको सेयर वितरण गरिसकेको छ।