• काठमाडौं : मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि प्रत्यक्षतर्फ देशभर उत्साहजनकरूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधि सभा र तीन सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता शान्तिपूर्ण र उत्साहजनकरूपमा भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

    निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि आज आइतवार बेलुका ५ बजेसम्मको समय तोकेको थियो । सबै ७७ वटा जिल्लामा स्थापना भएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफैँ वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने व्यवस्था थियो । त्यसैअनुसार उम्मेदवारले मनोनयनपत्र दर्ता गरेका छन् ।

    प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मनोनयन दर्ता गरेका छन् । उनको वारिसनामामार्फत डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारमा मनोनयन दर्ता गरिएको हो । प्रधानमन्त्री पत्नी एवम् कांग्रेस केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले आज दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा मनोनयन दर्ता गरेकी छिन् । पार्टीका जिल्ला सचिव हेमराज चटौत प्रस्तावक र पार्टी उपसभापति डिल्लीराज जोशी समर्थक रहेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए ।

    यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा पुगेर प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् । उनी आफैँ उपस्थित भएर आज दिउँसो झापा क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गराएका हुन् । ओली २०७४ सालमा पनि झापा–५ बाट निर्वाचित भएका थिए ।

    यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनी गोरखा पुगेर मनोनयन दर्ता गराएका हुन् । उनको प्रस्तावक नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र समर्थकमा नेपाली कांग्रेस गोरखाका सचिव किशोरजङ थापा रहेका छन् । उम्मेदवारी दर्ताको क्रममा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । भट्टराई र श्रेष्ठ दुवैको निर्वाचन क्षेत्र गोरखा–२ हो । तर यो निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले प्रचण्डलाई उम्मेदवार बनाएको छ ।

    यस्तै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा सदस्यमा रौतहट निर्वाचन क्षेत्र नम्बर–१ बाट मनोनयन दर्ता गराएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले रौतहट–१ बाट सत्तारूढ गठबन्धनको साथमा उम्मेदवारी दर्ता गराएका हुन् । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय गौर नगरपालिका पुगेर मनोनयन दर्ता गरे ।

    यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रतिनिधि सभा सदस्य पदका लागि सूर्य चिह्नबाट चुनाव लड्ने गरी उम्मेदवारी दिएका छन् । उनले मकवानपुर क्षेत्र नम्बर–१ मा सूर्य चिह्नबाट उम्मेदवारी दिएका हुन् ।

    केही चर्चित नेताहरू उपत्यकाबाट उम्मेदवार बनेका छन् । काठमाण्डौ क्षेत्र नम्बर ४ बाट कांग्रेस महामन्त्री गगन थापा उम्मेदवार बनेका छन् । उनीसँग एमालेका डा. राजन भटराईले प्रतिस्पर्धा गर्दै छन् । काठमाण्डौ क्षेत्र नम्बर ५ मा भने एमालेका ईश्वर पोखरेल र नेपाली कांग्रेसका प्रदीप पौडेल उम्मेदवार बनेका छन् । यही क्षेत्रमा रञ्जु दर्शनाले पनि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएकी छिन् । काठमाण्डौ क्षेत्र नम्बर १ मा भर्खरै विवेकशील साझा त्यागेर राप्रपा प्रवेश गरेका रवीन्द्र मिश्रले उम्मेदवारी दिएका छन् । त्यही क्षेत्रबाट नेपाली कांग्रेसका प्रकाशमान सिंह र पूर्वप्रहरी अधिकृत रमेश खरेल पनि चुनावी मैदानमा छन्।