• काठमाडौं । चीनको विदेश मन्त्रालयले बेइजिङ स्थित अमेरिकी राजदूत निकोलश बर्न्सलाई बोलाएर अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमणबारे विरोध जनाएको छ।

    चिनियाँ उप–विदेशमन्त्री से फेङले पलोसी भ्रमणको प्रकृति ‘खराब’ भएको भन्दै गम्भीर परिणामको चेतावनी दिएका छन्। उनले चीन चुप नबस्ने बताए।

    मङ्गलवार अबेर ताइवान पुगेकी पलोसी बुधवार त्यहाँको संसद्‌मा पुगेकी छिन्। उनले ताइवानका राष्ट्रपतिसँग पनि भेट गर्ने ठानिएको छ।

    अमेरिकी संसद्कको तल्लो सदनकी सभामुख पलोसी मङ्गलवार ताइवान पुगेपछि चीनले ताइवानमाथि सम्भावित बल प्रयोग गर्नसक्ने भन्दै ताइवानले त्यसको तयारी गरिरहेको छ।

    पलोसीको भ्रमणलाई ह्वाइट हाउसले समर्थन गरेको छैन। तर उनको भ्रमण दशकौँमा भएको उच्च अमेरिकी अधिकारीको पहिलो भ्रमण हो।

    पलोसी अमेरिकी सरकारको तेस्रो बरियताकी उच्च अधिकारी हुन् र उनी बेइजिङको लामो समयदेखि आलोचक रहँदै आएकी छन्।

    चीनले उक्त भ्रमणविरुद्ध बारम्बार चेतावनी दिँदै आएको छ।

    उसले मङ्गलवार उक्त भ्रमणका लागि अमेरिकाले ‘मूल्य चुकाउनुपर्ने’ चेतावनी पनि दिएको छ।

    ताइवान एउटा स्वशासित टापु हो तर चीनले उसमाथि दाबी गर्दै आएको छ।

    चीनले ताइवानलाई आफूबाट छुट्टिएको प्रान्तको रूपमा हेर्ने गर्छ।

    चिनियाँ विदेश मन्त्रालयकी एकजना प्रवक्ता हुवा चुनिङले उक्त भ्रमणको संवेदनशीलताबारे चीन अमेरिकासँग संवादमा रहेको बताइन्।

    उनले भनिन्, ‘चिनको सार्वभौम सुरक्षा चासोलाई कम आँकेको कुराको अमेरिकाले जिम्मा लिनुपर्नेछ र त्यसको मूल्य चुकाउनुपर्नेछ।’

    मङ्गलवार चीनले ताइवान र मुख्य चिनियाँ भू–भागको अनौपचारिक विभाजन रेखामाथि युद्धक विमानहरू उडाएको छ।

    उसका सैनिकहरूले युद्धको अभ्यास पनि गरिरहेका छन् र चिनियाँ सेनाको पूर्वी सैन्य कमाण्डले अनलाइनमा एउटा भिडिओ पोस्ट गर्दै आफूहरू ‘कुनै पनि परिस्थितिका लागि तयार रहेको’ जनाएको छ।

    ताइवानको रक्षा मन्त्रालयले उक्त टापु नजिकै भइरहेको सैन्य गतिविधिबारे आफू पूर्ण जानकार रहेको र चिनियाँ धम्कीबाट आफूलाई बचाउन पूर्ण कटिबद्ध रहेको जनाएको छ।

    अमेरिकाको चीनसँग औपचारिक कूटनीतिक सम्बन्ध छ भने ताइवानसँग त्यस्तो सम्बन्ध छैन।

    तर उसले ताइवानसँग ‘मजबुत अनौपचारिक’ सम्बन्ध रहेको बताउँछ। -बिबिसीबाट