• डोटी : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधबकुमार नेपालले गठबन्धनको गीत मात्रै गाउँदा पालिका तहको चुनावमा अपेक्षित सिट हासिल गर्न नसकिएको बताएका छन् ।

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी डोटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न आज जिल्ला सदरमुकाम सिलगढीमा आएका अध्यक्ष नेपालले सिलगढीमा पत्रकारहरुसँग कुराकानी गर्नु हुँदै गठबन्धनकै भर परेर पालिका तहको चुनावमा अपेक्षित सिट हासिल गर्न नसकिएको बताए ।

    उनले भने, “गठबन्धनको गीतमात्रै गाउँदा पालिका तहमा अपेक्षित सिट हासिल गर्न सकिएन, अबको संघ–प्रदेशको निर्वाचनमा हामी सोचे भन्दा बढी सिट हासिल गर्ने छौँ ।”

    पत्रकारहरुसँगकै कुराकानीमा अध्यक्ष नेपालले हालको पाँच दलीय गठबन्धन संघरप्रदेशको चुनावसम्म मात्रै नभइ पछिसम्म पनि दिगो रहने विश्वास व्यक्त गरे । वर्तमान परिपक्षमा गठबन्धन आवश्यक रहेकाले चुनावसम्म मात्र नभइ पछि सम्मका लागि पनि गठबन्धन कायम राख्न पाँचदलका शीर्ष नेताहरुबीच सहमत भएको समेत अध्यक्ष नेपालले जानकारी दिए ।

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी डोटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं संसद प्रेमबहादुर आले पनि डोटी आइपुगेका हुन् । पत्रकारहरुसँगको कुराकानीमा पूर्वमन्त्री आलेले डोटीमा पर्यटकीयदेखि अन्य भौतिक पूर्वाधारका लागि थुप्रै विकासका योजनाहरु समावेश गरिएकाले यहाँका नागरिकले आफ्नै आँखा अगाडि देख्ने गरी डोटीले विकासमा फड्को मार्ने बताए।

    उनले भने, “म मन्त्री भएका बेला डोटीको विकासका लागि थुप्रै बजेट विनियोजना भएको छ, अब डोटीले विकासको फड्को मार्ने छ ।”