• काठमाण्डौ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली प्रवृत्तिसँग सामना गर्न कांग्रेसले गठबन्धन गरेको बताएका छन् । शनिवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले संसदमाथि बारम्बार हमला गर्ने ओली प्रवृतिसँग आज नेपाली कांग्रेसले सामना गर्न गठबन्धन गरेको बताएका हुन् ।

    उनले नेपाली कांग्रेसले ओली प्रवृतिसँग सामना गर्नका लागि परिवर्तनका पक्षधर, संविधानका पक्षधर र नेपालमा लोकतन्त्रका पक्षधरहरुलाई एक ठाउँमा राखेर गठबन्धन गरेको बताए ।

    उनले भने, ‘बारम्बार सांसद बनाएर जनताले भोट दिएर पठाउने, त्यसै संसदलाई भंग गरेर देशमा राजनीतिक अस्थिरता पैदा गर्ने देशमा लोकतन्त्रमाथि कुठाराघात गर्ने, राजा महेन्द्रले २०१७ सालमा गरेजस्तै संसदमाथि बारम्बार हमला गर्ने ओली प्रवृतिसँग आज नेपाली काँग्रेसले सामना गर्न गठबन्धन गरेको छ ।’

    यस्तै नेता पौडेलले ओलीले राजावादी, पुरातनपन्थी र भ्रष्टाचारीहरुसँग गठबन्धन गरिरहेको आरोप पनि लगाए । उनले विकासको नाममा नेकपा एमालेका कार्यकर्ताहरुले केन्द्रबाट बजेट लगेर आफैँ उपभोक्ता, आफैँ ठेकेदार बन्ने गरेको र बजेट सबै खल्तीमा हालेको आरोप लगाए ।

    वरिष्ठ नेता पौडेलले गठबन्धनले गरेको अहिलेको राजनीति र विकास रणनीति सही ढंगमा अघि बढीरहेको पनि बताए ।