• काठमाण्डौ : नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ‘पल्सर स्पोर्ट्स अवार्ड’ मा दशकका पुरुष खेलाडी (प्लेयर अफ द डिकेड मेल) घोषित भएका छन् ।

    नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्डको १८ औँ संस्करणमा आज मङ्गलवार खड्का यो पुरस्कारबाट सम्मानित भएका हुन् ।पारसको एक दशकको कप्तानीमा नेपालले सन् २०१४ मा ऐतिहासिक टी–२० विश्व कप खेलेको थियो । यस्तै सन् २०१८ मा पारसले नेपाललाई ऐतिहासिक एकदिवसीय क्रिकेटको मान्यता दिलाएका थिए ।

    नेपाली खेलकुद इतिहासमै पछिल्लो एक दशकमा पुर्‍याएको योगदानको कदर गर्दै पारसलाई यो पुरस्कार प्रदान गरिएको हो । पारस एकदिवसीय र टी–२० क्रिकेट दुवैमा नेपालका लागि पहिलो शतक बनाउने खेलाडी पनि हुन् ।

    पारसले गएको वर्ष नेपाली टोलीबाट सन्न्यास लिएका थिए ।