• काठमाडौं । कम उमेरमा अन्तरराष्ट्रिय बक्सिङ प्रतियोगितामा विश्व रेकर्ड बनाउन सफल युवा बक्सर अविरल घिमिरे आइतबार जापानको टोकियो शहरमा आयोजना हुने ‘के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’मा भिड्दै छन् । नेपाली समयअनुसार सो प्रतियोगिता अपराह्न ३ बजे हुँदैछ । प्रतियोगिताको जापानी टेलिभिजनले प्रत्यक्ष प्रशारणसमेत गर्ने र भिडन्त हेर्न हजारौं खेलप्रेमी दर्शकको सहभागिता हुने बताइएको छ ।

    अहिले उनी अन्तिम प्रशिक्षणमा व्यस्त छन् । युवा समाजसेवी रामनारायण घिमिरेले दिएको जानकारीअनुसार अन्तरराष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका सुपुत्र अविरल आफ्ना बुबाकै विशेष प्रतिक्षणमा व्यस्त रहेका छन्छ ।

    हिमालयन चितुवाले परिचित अविरलले नियमितरुपमा सिमुरा डोजोमा दैनिक आठ घण्टाभन्दा बढी कडा प्रशिक्षण लिँदै आएका छन् । “मेरो प्रशिक्षणमा अविरल कडा मेहनतका साथ प्रशिक्षणमा छ, उसले के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगितामा चुम्नेमा म विश्वस्त छु”, प्रशिक्षक देवकुमारले भने । उनका अनुसार कम उमेरमा सो प्रतियोगितामा भिड्ने अविरल पहिलो युवा बक्सर हुन् ।