• काठमाडौं । निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्वका लागि आज भएको मतदान सम्पन्न भई मतगणना शुरु भएको छ । महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने भएकाले सो पदमा भने मतदान भएन । वरिष्ठ उपाध्यक्षसहित अन्य पदका लागि भएको मतदानमा शतप्रतिशत नै मत खसेको निर्वाचन समितिले जनाएको छ ।

    वरिष्ठ उपाध्यक्षका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधान समूह नै बनाएर निर्वाचनमा उत्रेका छन् । निर्वाचन समितिले मतगणना शुरु भएको जनाएको छ । निर्वाचन समितिका अनुसार मतगणना शुरु भएकाले आजै अबेरसम्म मत परिणाम आउन सक्नेछ । महासङ्घमा वस्तुगततर्फ १०१, जिल्ला/नगरमा १०५ र एशोसिएटतर्फ ९०३ मतदाता रहेका छन् । महासङ्घको मतदानका लागि जिल्ला र नगरका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एशोसिएटका लागि कार्की ब्याङ्केट र वस्तुगतका लागि महास्घको केन्द्रीय कार्यालयमा मतदान गरिएको थियो ।

    महासङ्घको नयाँ नेतृत्वका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १२७ जनाले उम्मेदवारी दिएका थिए ।