• काठमाडौं । पछिल्लो समय सेयरबजारमा कीर्तिमानी उचाइ कायम भइरहेको छ ।

    कोरोना महामारीले लगानीमा समस्या छ । तर, होटल, जलविद्युत र उत्पादनमूलक उद्योग, बीमा, बैंक लगायत सबैजसो सूचीकृत कम्पनीको सेयर मूल्य भने क्रमिक रुपमा बढिरहेको छ । मूल्य बढेकाले सेयर बजार परिसूचक अहिलेसम्मकै उच्च अंकमा पुगेको छ भने कारोबार रकम पनि दिनदिनै बढिरहेको छ । कम्पनीले मुनाफा कमाएर लाभांश दिन्छन् भन्ने आशमा भन्दा अन्य क्षेत्रमा लगानीका ढोका बन्द भएकाले रकम सेयरबजारमा ओइरिएको एकथरीको आकलन छ । बैंकले सेयर धितोमा दिने कर्जा सहज बनाएका कारण पनि पूँजी वजार बढेको हो ।

    यसअघि २०७३ साउन १२ गते नेप्से परिसूचक त्यतिखेरसम्मको उच्च अंक १८ सय ८१ कायम हुादा मुलुक भूकम्प र नाकाबन्दीले थलिएको थियो । त्यसपछि लगातार दुई वर्ष ६ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि हुादा भने नेप्से २०७५ फागुन २१ गते १ हजार ९८ सय अंकमा झरेको थियो । त्यसो त यतिबेला विश्वकै सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ । सेयरबजारलाई अर्थतन्त्रको ऐना मानिन्छ । तर जानकारहरुका अनुसार अहिलेको वृद्धिले भने अर्थतन्त्रको वास्तविक चित्र प्रस्तुत गर्दैन ।