• इलाम । असारको पहिलो सातादेखि चिया किसान आन्दोलनमा छन् । उद्योगीले चियाको तोकिएको मूल्य नदिएकाले किसान आन्दोलनमा उत्रिएका हुन् तर आन्दोलन गरेको लामो समय भइसक्दा पनि उद्योगीले चियाको मूल्य दिएका छैनन् । हरियो चियाको मूल्य न्यूनतम प्रति किलो रु ४० दिनु पर्ने प्रावधान स्थानीय सरकार ९सूर्योदय नगरपालिका०ले बनाएको छ तर मापदण्डको धज्जी उडाउँदै कतिपय उद्योगीले हरियो चियापत्तिको मूल्य २० देखि ३० रुपैयाँको अनुपातमा दिँदै आएका छन् ।

    मापदण्डानुसार चियाको मूल्य दिन किसानले उद्योगीलाई अनुरोध गरेका छन् । नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई समेत किसानले ध्यानाकर्षण गराएका छन् तर पनि उद्योगीले ‘डेग’ चलाएका छैनन् । उद्योगीले यतिसम्म किसानमाथि शोषण गरेका छन् कि पहिले ‘पेश्की’ भन्दै किसानलाई रकम दिने पछि त्यति हो चियाको मूल्य भन्दै पन्छिनेसमेत गरेका छन् । यसैले किसान उद्योगीसँग आजित भएका छन् ।

    कानूनमा तोकिएकै मूल्य नपाउँदा किसान अलमलमा छन् भने उद्योगीले आफूहरूको गुनासो नसुनेकोमा दुखित छन् । “कानूनमा भएकै चियाको मूल्य पाउन हामीले कहिलेसम्म आन्दोलन गर्नुपर्ने ?” सूर्योदय–१० की साधना फागो भन्छिन्, “आन्दोलन गरेरै समय जाने रहेछ । अब त हैरान भइसक्यो ।” फागोका अनुसार किसानको चियाको लागत मात्रै ३८ रुपैयाँ पर्छ तर २० देखि ३० रुपैयाँमा चिया बेच्नु परेको छ ।

    नगरका अधिकांश किसानले आन्दोलनको शुरुमा त चिया नै उद्योगीलाई दिएका थिएनन् । उद्योगीले प्रतिबद्धता गरेर उचित मूल्य दिन्छौँ भनेपछि फेरि किसानले उद्योगसम्म चिया पुर्याए तर समस्या ज्युँका त्युँ छ । एक महिनाअघि आन्दोलन निष्कर्षमा पुग्न लागेको बताएका किसान एकाएक पछि सर्दै अहिले फेरि आन्दोलनमा उत्रिएका हुन् ।

    किसान, उद्योगी, नगरपालिका र चिया तथा कफी विकास बोर्डले किसानको समस्याको हल गर्न व्यावहारिक प्रयत्न नगर्दा समस्या नसुल्झिएको नगरपालिकाका किसान सुवास राई बताउँछन् । उनले किसानको समस्या हल गर्न सबै क्षेत्र मुखमा मुख मिलाए पनि व्यवहारमा भने किसानमैत्री नदेखिएको राईको दुखेसो छ ।

    “हाम्रा पक्षमा सबै पक्ष लागिदिने हो भने कसरी समस्याको समाधान हुँदैन ?” आक्रोशित स्वरमा भने, “कानूनको कार्यान्वयन हुन सक्दैन भने नगरपालिकाले मापदण्ड किन बनाएको ?” सूर्योदय नगरपालिकाको ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५’ मा ‘४० प्रतिशतभन्दा कम गुणस्तरको पत्तीको खरिद तथा विक्रीलाई निरुत्साही गरिनेछ’ भनिएको छ ।

    नगरको कार्यविधिअनुसार किसानले ल्याउने चियामा ४० प्रतिशत न्यूनतम नरमपात भएको हुनुपर्ने छ भने किसानले ल्याएको सोही मापदण्डको चियालाई प्रतिकिलो रु ४० (न्यूनतम) मा उद्योगीले किन्नुपर्ने प्रावधान छ । किसानले नगरको मापदण्डानुसारको चिया नल्याएकाले ४० रुपैयाँ प्रति किलो मूल्य दिन नसकिएको उद्योगीको तर्क छ तर नगरपालिका–१० का संयोजक एवं सूर्योदय चिया सचिवालयका सदस्य सोनाम छिरिङ काजीले भने किसानले मापदण्डअनुसारकै चिया ल्याउने गरेको बताउँछन् । रासस