• काठमाडौं । लक्ष्मी बैंकको नयाँ अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले नेपाललाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो । नेपाल राष्ट्र बैंकबाट ३० वर्षे सेवापछि निर्देशक पदबाट अवकाश पाएका नेपालसँग बैंक अन्तर्गतको नियमन, सुपरीवेक्षण, विनिमय विभागका साथै बैंकका क्षेत्रीय कार्यालयहरुमा समेत काम गरेको अनुभव छ ।

    नेपाल २०७५ फागुनदेखि सोही बैंकको सञ्चालक समितिका सदस्य रहेका थिए । हाल उनी नागरिक लगानी कोषको कार्यकारी निर्देशक छन् ।

    नागरिक लगानी कोष लक्ष्मी बैंकको प्रवर्धक सेयरधनी हो । कोषको लक्ष्मी बैंकमा करिब १५ प्रतिशत सेयर लगानी रहेको छ ।

    मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका स्थायी घर भएका अध्यक्ष नेपालले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र पोखरा विश्वविद्यालयबाट अंग्रेजीमा एमफिलसम्मको अध्ययन गरेका छन् ।