• काठमाडौँ । नेपाली बजारमा पछिल्लो एक सातादेखि सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यही भदौ ३ गतेदेखि स्थानीय बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ ।

    गत बुधबार प्रतितोला एक लाख ४०० पुगेको सुनको मूल्य त्यसयता लगातार घटिरहेको छ । एक सातामा नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन हजार ६०० ले घटेको छ । महासङ्घका अनुसार आज पनि सुनको मूल्य प्रतितोला ४०० ले घटेको छ । बुधबारका लागि सुनको मूल्य प्रतितोला ९६ हजार ८०० तोकिएको छ । मङ्गलबार सुनको मूल्य प्रतितोला ९७ हजार २०० थियो । यस्तै चाँदी पनि प्रतितोला १० ले घटेर तोलाको एक हजार ३१० पुगेको छ ।

    पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लागेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको महासङ्घले जनाएको छ । पछिल्ला केही महिनादेखि सुनको मूल्यमा उच्च वृद्धि हुँदै आएको थियो । नेपाली बजारमा गत साउन २३ गते सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो । त्यसदिन सुनको मूल्य प्रतितोला एक लाख तीन हजार ५०० पुगेको थियो ।