• काठमाडौं । चालू आर्थिक वर्ष ०७७/७८ को मौद्रिक नीति सार्वजनिक भएपछि खुलेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा आज तीनपटक ‘सर्किट ब्रेक’ लागेको छ । बजार खुलेको झण्डै एक घण्टा आठ मिनेटभित्र तीनपटक सर्किट ब्रेक लागेपछि आजका लागि बजार बन्द भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक ६.०४ प्रतिशतले बढेको छ । नेप्से ८४.२६ अङ्कले बढेर एक हजार ४७९.०३ मा रोकिएको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि १७.३९ अङ्कले बढेर ३१२.४४ मा पुगेको छ ।

    कूल १११ कम्पनीको एक लाख ८० हजार ५९६ कित्ता शेयर रु छ करोड २५ लाख ६६ हजार २९३ मा खरिदबिक्री भयो । कारोवार भएका कूल १० उपसमूहमध्ये नौ उपसमूहको शेयर बढेको छ भने सामूहिक लागनी कोष तटस्थ देखिएको छ । बैंकिङ ८८.८७, विकास बैंक ६३.१३, जलविद्युत् ३६.३६, वित्त ९.०१, निर्जीवन बीमा २०२.४, उत्पादन १४१.७८, अन्य ४९.३३, लघुवित्त ९२.३९ र जीवन बीमा ५४८.६६ अङ्कले बढेको छ ।

    सबैभन्दा बढी गुराँस लघुवित्त वित्तीय संस्था, नबिल बैंक, एनआइसी एसिया बैक, नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयरधनीले समान १०/१० प्रतिशतले कमाए । यस्तै नेपाल पुनर्बीमा कम्पनी ९.९८, एभरेष्ट बैंक ९.९६, हिमालयन डिष्टिलरी ९.९५, ज्योति विकास बैंक ९.९४ र एनएमबी बैंकका लगानीकर्ताले ९.९३ प्रतिशतले कमाए ।