• काठमाडौं : राष्ट्रिय उपभोक्ता मञ्चले नेपाल आयल निगमको असक्षमताका कारण नेपालमा खाना पकाउने ग्यासको अभाव देखिएको आरोप लगाएको छ ।

    विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले यस्तो आरोप लगाएका हुन् । उनले नेपालमा खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको समस्या देखिनुमा वाह्य प्रभाव नरहेको जिकिर गरे ।

    नेपाल आयल निगमको व्यवस्थापकीय असक्षमता र सूचना लुकाएको कारणले खाना पकाउने ग्यासको समस्या आएको मञ्चका अध्यक्ष महर्जनको आरोप थियो । अध्यक्ष महर्जनले खाना पकाउने ग्यासको अभाव हुनुमा कालोबजारीले पनि काम गरेको दाबी गरे ।

    यस्तै कार्यक्रममा बोल्दै उद्योग वाणिज्य सङ्घ काठमाण्डौका अध्यक्ष दिनेश श्रेष्ठले उपभोक्ताहरुको हित संरक्षणका लागि विद्यमान कानूननै पुनर्लेखन गर्न आवश्यक रहेको बताए । उनले कानून कार्यालयन गर्ने निकायले नै अनुगमनको काम पनि गर्ने व्यवस्था विद्यमान ऐनमा भएकाले त्यसलाई परिमार्जन गर्न सम्बन्धित कानूनको पुनर्लेखन आवश्यक रहेको उनको तर्क छ ।