• पशुपतिमा रहेको मसानघाटमा जलिरहेको शवका मासुका टुक्रा चोरी भएको समाचारले निक्कै चर्चा पाएको छ । घटना साउन २३ गते भएको हो । प्रहरीका अनुसार दुवैजनाले अन्त्येष्‍टि भइरहेको अवस्थामा जलिरहेको शवबाट एउटा हड्डीको टुक्रा निकालेर बेचेका थिए ।

    तर हड्डी निकाल्नेबित्तिकै  आफन्तहरू र परिवारजनका सदस्यको उजुरीका आधारमा दुवैजना पक्राउ परे ।  प्रहरीका अनुसार लाश जलाउने काम गर्नेले उक्त हड्डी र मासुको भागको केही डल्लो जोगीको भेषका एकजना व्यक्तिलाई ५ सय रुपैयाँमा बेचेका थिए ।
    यो घटना नौलो हो । तर, यस अघि पनि यस्तो काम भएको अनुमान गर्न भने सकिन्छ , उक्त हड्डी अघोरी बाबालाई बेच्न निकालिएको आशङ्का गरिए पनि त्यसको पुष्टि हुन सकेको छैन ।

    अघोरी बाबाले मानिसको हड्डी र मासुको डल्लो मसान जगाउन प्रयोग गर्ने गरेको बताइन्छ । अघोरीहरूले आर्यघाटबाटै मानिसको शरीरको हड्डी र मासु लिन त्यहाँ कार्यरतहरूलाई प्रयोग गरेको हुन सक्ने अनुमान पनि छ । 
    यो काम कानुन विपरित हो या होइन यसको बहस पक्कै हुन्छ । नेपालको कानुनको अधीनमा रहेर कारवाही अघि बढ्ला नै । तर, पुरातन इतिहासको अध्ययन र देशी विदेशी संस्कार र संस्कृति अनि इतिहासलाई केलाउने हो भने नरभक्षण अथवा मान्छेले मान्छेको मासु खाने कुरा पूर्वीय र पश्चिमा दर्शनमा पनि वर्णन पाइन्छ । तथापि अहिले कानुनी रुपमा खुला त छैन । 
    मानव सभ्यताको इतिहास केवल विकासको कथा मात्र होइन, डर, विश्वास, र परम्पराहरूको जटिल मिश्रण पनि हो ।

    मृत्युपश्चात् शरीरसँगको व्यवहार, अन्त्येष्‍टि संस्कार र त्यससँग सम्बन्धित अनुष्ठानहरू समय र संस्कृतिअनुसार व्यापक भिन्न रहेका छन् । प्राचीन कालदेखि आधुनिक समाजसम्म , शवसँगको व्यवहारले धार्मिक आस्था, सामाजिक संरचना, र सांस्कृतिक मान्यताहरूको गहिरो झलक दिन्छ ।

    पुरातात्विक अनुसन्धानहरूले देखाउँछ कि आदिम मानव मात्र शिकार र सङ्कलनमा सीमित थिएनन्, उनीहरूको अन्त्येष्‍टि प्रथामा पनि सांस्कृतिक ‘नरभक्षणको भूमिका थियो । डेलिमेलमा उल्लेख भएअनुसार बेलायतको समरसेटको चेडर गर्जमा पाइएका मानव खप्परहरुको परीक्षणका क्रममा प्राचीन बेलायती मानिसहरू समेत नरभक्षी  रहेको र आफ्नो सिकारको टाउकोबाट बनाइएको कचौरामा पानी खान मन पराउने गरेको तथ्य पत्ता लागेको छ । १४ हजार ७ सय वर्ष पुराना खप्परहरूको अध्ययनले यस्तो सङ्केत गरेको हो । शत्रुलाई मारेर वा आफ्नै मृत सदस्यको शवबाट मासु निकालेर खाने परम्परा थियो भन्ने त्यहाँको वर्णनले स्पष्ट पार्दछ । 

    मान्छेका खप्परहरूलाई कचौराको आकारमा परिणत गरी पानी वा रगत पिउन प्रयोग गरिएको अनुमान पनि धेरै गरिएको छ । 

    यस प्रकारको नरभक्षणलाई केवल ‘भोक मेटाउने’ व्यवहार मात्र नभई, शक्ति प्रदर्शन, शत्रु माथि विजयको प्रतीक, वा मृतकप्रति श्रद्धाञ्जलीका रूपमा पनि लिइएको हुनसक्छ ।


    यसरी, ऐतिहासिक समाजमा मृतकको शरीरलाई प्रयोग गर्ने क्रियाले धार्मिक अनुष्ठान, सामाजिक एकता, र भय–आधारित सम्मानको मिश्रण बोकेको देखिन्छ ।

     अघोरी परम्परा र मृत्युसँगको सम्बन्ध पनि विभिन्न स्थानमा वर्णित छ । भारतको केही क्षेत्रमा प्रचलित अघोरी साधुहरूको जीवनशैली पनि मृत्यु र शवसँग गहिरो सम्बन्धित छ ।


    धार्मिक दृष्टिकोणे पनि यसको वर्णन छ ।  अघोरीहरू भगवान शिव र शक्तिको भक्त हुन् । उनीहरू मशानलाई आध्यात्मिक साधनाको केन्द्र मान्छन्, जहाँबाट जीवनको अस्थायीपन र मृत्युपश्चातको सत्य बुझिन्छ । अघोरीहरू समाजका मूल्य र नैतिकतालाई चुनौती दिन्छन् ।

    शवसँगको सम्पर्क, भस्मको प्रयोग, र कहिलेकाहीँ विवादास्पद अभ्यास (जस्तै मृत शरीरसँग यौन सम्पर्क) उनीहरूको चरित्रसँग जोडिन्छ ।र, यो अनुरुप उनीहरुले कर्म गरेको धेरै पढ्न पाइन्छ । विगतका केही वर्षमा भारतका केही अघोरीहरूले कुष्ठरोग निवारण अस्पताल निर्माणमा श्रमदान गरेका छन्, जसले उनीहरूबारेको डर केही हदसम्म कम गरेको बिबिसीले नै एक बुलेटिनमा उल्लेख गरेको छ । यसमा केही समानता र भिन्नता पनि छन् । 


    यदि प्राचीन नरभक्षण संस्कार र अघोरी परम्परालाई तुलना गर्ने हो भने केही समानता देखिन्छ । मृत शरीरलाई अनुष्ठानको हिस्सा बनाउने दृष्टिकोण, मृत्युको प्रतीकलाई शक्ति, आध्यात्मिकता वा संस्कारसँग जोड्ने सोच,समाजको मुख्यधाराबाट बाहिरको अभ्यासमा समानता छ । 


    प्राचीन नरभक्षण प्रायः शत्रु वा मृत सदस्यसँगको शक्ति प्रदर्शन वा खाद्य आवश्यकता पूरा गर्न हुन्थ्यो, अघोरी परम्परा भने धार्मिक÷आध्यात्मिक साधनामा आधारित छ । ऐतिहासिक अभ्यासमा ‘जीविकोपार्जन’को तत्व बलियो छ, अघोरीमा ‘तपस्या र त्याग’को भिन्नता छ । आधुनिक समाजको दृष्टिकोण भने यस्ता बिषयमा फरक छन् । 


    आजको समाजले यस्ता अभ्यासलाई प्रायः अस्वीकार वा आलोचना गर्छ । किनभने, नैतिकता र मानव अधिकारः मृत शरीरको सम्मान, कानूनी संरचना, र मानव गरिमा अहिलेको प्रमुख विष हुन् । स्वास्थ्य र सुरक्षाका कुरा पनि आधुनिक समाजले हेर्छ ।  शवसँगको अनावश्यक सम्पर्कले रोग फैलन सक्ने सम्भावनाका बारे अहिलेको समाजले चासो राख्छ । आधुनिक जीवनशैलीले मृत्युसँगको प्रत्यक्ष सम्पर्कलाई टाढा धकेलेको छ । तर, इतिहास र सांस्कृतिक अध्ययनका दृष्टिले यी अभ्यासहरूलाई बुझ्नु आवश्यक छ । किनकि यिनले मानव सभ्यताको गहिरो मनोविज्ञान, मृत्युबोध, र परम्परागत शक्ति–संरचनालाई उजागर गर्छ ।

    मानव इतिहासमा मृत शरीरसँगको व्यवहार केवल शवयात्रा वा दाहसंस्कारमा सीमित छैन । यो कहिले शक्ति र विजयको प्रतीक, कहिले आध्यात्मिक यात्राको माध्यम, र कहिले सामाजिक चुनौतीको रूपले देखा परेको छ । ऐतिहासिक नरभक्षण होस् वा अघोरी साधुहरूको शवसँगको साधना यी दुवैले मृत्युको भयलाई आध्यात्मिक वा सांस्कृतिक भाषामा रूपान्तरण गर्ने प्रयास गरेका छन् ।
    यी अभ्यासहरू आजका मान्यतासँग मेल नखाए पनि, तिनको अध्ययनले मानव चेतना, आस्था, र समाजको विकासक्रम बुझ्न अमूल्य दृष्टि दिन्छ ।