• काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा पुगेका छन् ।

    हिजो दिवंगत भएका नेकपा एस सम्वद्ध वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री त्यहाँ पुगेका हुन् ।

    प्रधानमन्त्री ओली पुग्दा नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, महासचिव घनश्याम भुसाल लगायतका नेताहरू पनि थिए ।

    ओलीले उनीहरूसँग केही बेर भलाकुसारी गरे । साथै, कार्यालयभित्र पसेर गत चैत १५ गते भएको आगजनीबाट पुगेको क्षतिको पनि अवलोकन गरेको कार्यालय सचिव रामकुमार भट्टराईले बताए ।

    नेकपा एमालेलाई विभाजित गर्दै २०७८ भदौ २ गते नेकपा एस दर्ता भएको थियो । सो पार्टीको कार्यालयमा ओलीले पहिलो पटक पाइला टेकेपश्चात् दुई दलबीच सम्बन्ध सुधारको संकेत देखिएको छ ।