• काठमाडौं ।


    जब भदौ २९ गते नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) कुलमान घिसिङको चारवर्षे कार्यकाल सकिँदै थियो । उनलाई पुनः नियुक्ति दिने वा नदिने भन्ने विषयमा सरकारले निर्णय गरिसकेको थिएन । तर, भदौ लाग्नासाथ कुलमानले आफ्नो पक्षमा निर्णय गराउन विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालको चरम दुरुपयोग सुरु गरे । उनले सुरुदेखि नै केही सञ्चारकर्मी र सामाजिक सञ्जाल परिचालन गरेका थिए । त्यो हतियार अहिले फेरि चलाएका छन् र सरकारभन्दा आफू ठूलो भन्ने प्रचार गराइरहेका छन् । उनले विगतदेखि नै एक जना पत्रकारलाई नै सामाजिक सञ्जाल सञ्चालनको जिम्मा लगाएको पनि स्रोतको दाबी छ ।

    कुलमान प्राधिकरणको एमडी भएर आउँदा देशमा दैनिक छ घण्टाको लोडसेडिङ थियो । त्यसभन्दा अगाडि नै बर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएको बेला देशलाई दुई वर्षमा लोडसेडिङबाट मुक्त गर्ने घोषणा गरेका थिए । त्यही अनुसार कामहरु अगाडि बढाइएका थिए । साना÷ठूला गरी दर्जन बढी जलविद्युत् आयोजनाको निर्माण थालिएको थियो । कुलमान आउनु एक दशक अगाडिदेखि नेपालमा लोडसेडिङ भइरहेको थियो ।

    जलविद्युत आयोजना पनि निर्माण भइरहेका थिए । कुलमान एमडी भएर आएको केही समयपछि मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको करिब ६९ मेगावाट बिजुली थप भयो । छ घण्टाको लोडसेडिङलाई त्यसले राहत दियो । उनी भारतबाट रुचाइएका व्यक्ति थिए । उनले भारतसँग बिजुली खरीद गरे र व्यवस्थापन गरे । अर्थात् घरायसी प्रयोजनका लागि बिजुली दिए र औद्योगिक क्षेत्रमा कटौती गरिदिए । यसले लोडसेडिङको विरोध गर्ने वर्गलाई राहत मिल्यो । व्यवसायीलाई खुसी पार्न उनले भारतबाट बिजुली खरीद गरे । यसरी बिजुली खरीद गर्दा उनले कमिसन पनि पाए र नेपालमा लोडसेडिङ अन्त्य गर्न पनि सहयोग पुग्यो । तसर्थ, भारतबाट बिजुली खरीद गर्दा उनलाई कमिसन र नेपालमा हाइहाइ दुबै मिल्यो ।

    कमिसनका लागि खरीद गरेको बिजुली लोडसेडिङ अन्त्यका लागि औषधि बन्दा कुलमान तीन छक परे । भारतबाट बिजुली खरीद गरेर ल्याउँदाको मूल्य र नेपालमा बिक्री गर्दाको बीचको कम हुने मूल्यको रकम अर्थ मन्त्रालयले दिने निर्णय सरकारले गरिदिएको थियो । त्यही भएर उनले भारतबाट महङ्गो बिजुली खरीद गरेर नेपालमा ग्राहकलाई सस्तोमा बिक्री गरे । यो योजनाबाट उनले राम्रैसँग धन मात्र कमाएनन्, कुलमानले नै जनतालाई सस्तो बिजुली दिएको भनेर प्रचार गराइयो । जब कि जनतालाई कति मूल्यमा बिजुली बिक्री गर्ने भन्ने सरकारकै पुरानो निर्णय थियो र त्यही अनुसार जनताले शुल्क बुझाउँदै आएका थिए । सस्तोमा बिजुली बिक्री कुलमानले होइन, सरकारले गरेको थियो । तर उसले केही निश्चित मिडिया र नक्कली आईडीका सामाजिक सञ्जालबाट कुलमानले सस्तो बिजुली बिक्री गरेको प्रचार गराए । त्यसमा ऊर्जा मन्त्रालय नै निरीह बनेको थियो ।

    कुलमान त प्राधिकरणका एमडी मात्र थिए । तर, उनको भक्त पत्रकार र उनले फेक आईडीबाट चलाएका फेसबुक लगायतका सामाजिक सञ्जालले कुलमानको जयजयकार गाए । यतिसम्म कि बिजुली कुलमानले आफ्नो पकेटबाट फुत्त झिकेर दिएको जस्तो गरी प्रचार गरियो । यदि प्राधिकरणले कुलमान आउनु अगाडि प्रसारण लाइन र जलविद्युत् आयोजना निर्माण गरेको थिएन भने कुलमान आउनासाथ त्यसरी लोडसेडिङ अन्त्य हुने थिएन । तर, कुलमानले मात्र गरेको हो भनेर ऊर्जा मन्त्री र सरकारभन्दा कुलमान ठूलो भनेर प्रचार गराइयो । लोडसेडिङ हटाउने कार्ययोजना नेपाल सरकारकै हो । त्यसका लागि जति पैसा परे पनि सरकारले व्यवस्थापन गर्ने भनेको थियो । भारतको ऊर्जा निर्यात गर्ने कम्पनीका एजेन्टकै रुपमा काम गर्ने कुलमानले भारतीय कम्पनीले भनेको जसरी बिजुली ल्याएर र लोडसेडिङ अन्त्य गरिदिएका थिए । उनले आफू एमडी हुनु अगाडि नै भारतीय ऊर्जा बिक्री गर्ने कम्पनीसँग साँठगाँठ गरिसकेका थिए ।

    अहिले उनले भारतबाट कम बिजुली ल्याएको प्रचार गरेका छन् । सत्य हो अहिले कम बिजुली आएको छ । तर, कुलमानको पालामा होइन, उनीभन्दा अगाडि सुरु भएका जलविद्युत् आयोजनाको निर्माण पूरा भएको कारण अहिले भारतबाट बिजुली कम आएको हो । उनले आफू आउँदा कति बिजुली ल्याएको भनेर तथ्याङ्क सार्वजनिक गर्न सक्तैनन् किन कि उनले त्यतिबेला प्राधिकरणको आम्दानीले नथेग्ने गरी भारतीय बिजुली खरीद गरेका थिए, त्यो पनि मोटो कमिसनमा । अहिले भारतको बिजुलीबाट लोडसेडिङ हटेको होइन भनेर प्रचार गर्ने कुलमानले आफू एमडी भएपछि कुन कुन वर्ष कति बिजुली ल्याएको भनेर श्वेतपत्र सार्वजनिक गर्न सक्ने अवस्था छैन ।

    उनले कयौं जलविद्युत् आयोजनाको पीपीए (विद्युत् खरीद सम्झौता) गर्दा प्राधिकरणलाई दीर्घकालको लागि डुबाउने काम गरेका छन् । पीपीएमा ठूलो आर्थिक चलखेल कुलमानले नै प्रवेश गराएका हुन् । प्राधिकरणलाई डुबाउन उनले त्यहींभित्र करिब दुई दर्जन कम्पनी खडा गरिदिएका छन् । यसले गर्दा प्राधिकरण आगामी दिनमा उठ्नै नसक्ने गरी डुब्ने निश्चित छ । ती कम्पनीको खर्च धान्न सक्ने अवस्था छैन । सरकारले खर्च कटाउने योजना बनाए पनि कुलमानले नयाँ–नयाँ कम्पनी खडा गरेर सरकारको खर्च कटौतीको योजनालाई ठाडै चुनौति दिएका छन् । यो उनको ठूलो आर्थिक अपराध हो ।

    उनी जुनसुकै आयोजना पनि ठेक्का लगाउन र ठेक्काबापतको कमिशन खान पहिलादेखि नै माहिर छन् । उनी चिलिमे जलविद्युत् कम्पनीमा छँदा त्यसै गरे । चिलिमे तथा त्यसका सहायक कम्पनीका आयोजना निर्माणको ठेक्कामै कुलमानले अर्ब बढी रकम उठाइसकेका थिए । ऊर्जा मन्त्री राधा ज्ञवाली भएका बेला कुलमानको चारवर्षे कार्यकाल सकिएपछि चिलिमेमा म्याद थपिनन् । उनी प्राधिकरण फिर्ता भए । तर, रसुवामा तत्कालीन प्राधिकरणका एमडी रामचन्द्र पाण्डेयलगायत चिलिमेको कार्यक्रममा सहभागी हुन काठमाडौंबाट गएका सांसद्सहितको राजनीतिक दलको टोलीलाई हत्या गर्ने किसिमले धादिङ र रसुवाका गुण्डा लगाएर चारैतिर घेरेर आक्रमण गरे । तर, प्रहरीको उल्लेख्य सख्यामा उपस्थिति भएका कारण बच्न सफल भएका तत्कालीन माओवादी रसुवाका एक नेताले जानकारी दिए ।

    कुलमानले आपराध यात्रा सुरु गरेको थाहा पाएपछि प्राधिकरणबाट कुलमानलाई भविश्यमा समेत अयोग्य हुने गरी सेवाबाट हटाउने प्रक्रिया अगाडि बढाउन आवाज उठेको थियो । तर, एउटा कर्मचारीलाई किन त्यतिसम्मको कारबाही गर्नु, उसलाई गल्ती महसुस गराउने भनेर त्यतिबेलाकी मन्त्री ज्ञवालीले साइजमा राखेकी थिइन । तर, पछि उनी मन्त्रीबाट हटिन् । जुन कारणले उनलाई हटाइयो त्यसमा सर्वोच्चले ज्ञवालीलाई सफाइ पनि दियो । यसमा कुलमानलगायत केही एजेन्टको सेटिङ्ग रहेको ज्ञवाली पक्षको भनाइ छ ।

    तर, कुलमान प्राधिकरणको नेतृत्वमा आउन चाहे । तत्कालीन माओवादी केन्द्रका नेता जनार्दन शर्मा मन्त्री भएको बेला उनी एमडी बने । त्यसपछि उनले उज्यालोको नाममा कालो धन्दा चलाएर प्राधिकरणमा यति लूट मच्चाए त्यसको लेखाजोखा हुनै सक्तैन । अर्थात् कुनै ठूलो राजनीतिक दल तथा त्यसका सबै उम्मेदवारले दुईरचारवटा राष्ट्रिय निर्वाचनमा खर्च गर्न सक्ने जति रकम उनले व्यक्तिगत रुपमै जम्मा गरेका छन् । उनले धेरै ठेक्का लगाएर अहिले अकुत सम्पत्ति जम्मा गरिसकेका छन् । अकुत सम्पत्तिबाट उनले बनेपामा आफन्त प्रयोग गरेर श्री माता चण्डेश्वरी र जयमाता चण्डेश्वरी नामका दुई ठूला हार्डवेयर सञ्चालन गरेका छन् । अकुत सम्पत्ति छानबिनमा ती हार्डवेयरमा ताला लागेको थियो ।

    यसलाई जोगाउन कुलमान पुनः प्राधिकरणमा एमडीको नयाँ नियुक्तिको लागि लागे । त्यो कारण पनि उनले फेरि नियुक्तिका लागि करोड होइन, अर्ब रुपैयाँ खर्च गरे र माओवादीको लगानीकर्ता बने ।

    कुलमानले सामाजिक सञ्जाल र सञ्चार माध्यममा वार्षिक लाखौं रुपैयाँ खर्च गर्छन् । जब उनीमाथि सङ्कट आइपर्न थाल्छ अनि उनको समर्थनमा नक्कली आईडीका सामाजिक सञ्जाल सक्रिय बनाइन्छ । अरु बेला ती सामाजिक सञ्जाल सुत्छन् । किन कि ती सञ्जाल निश्चित उद्देश्यका लागि चलाइएका छन् । यो देशमा सरकार होइन, कुलमान मात्र छन् र कुलमानले मात्र लोडसेडिङ हटाएका हुन्, सरकारको कार्ययोजना नै थिएन भनेर प्रचार गरिनुले त्यस्ता सामाजिक सञ्जाल र समाचारले पुष्टि गर्छन् कुलमान के मिशनका हिंडेका छन् भन्ने । उनले केही पत्रकारलाई पैसामा त केही सञ्चारमाध्यममा सेयर लगानी गरेका छन् । प्राधिकरणका स्वदेशी तथा विदेशी ठेकेदारसँग पैसा असुल गर्नका लागि बाहिरी होइन, आफ्नै दाइ गणेश घिसिङ प्रयोग गरेका छन् । उनले सबै ठेकेदारसँग पैसा असुल गर्छन् ।

    भोजभतेर, पत्रकारको देशविदेशमा हिंडडुल, सामाजिक सञ्जाल सञ्चालनको व्यवस्थालगायतका काममा उनले राम्रै खर्च गर्छन् भने केही रकम राजनीतिक दलका नेताहरुलाई पनि बुझाउँछन् । त्यो पनि तौलीतौली । किन कि सङ्कटको बेला पैसा तिरेर खरीद गर्नुपर्छ भन्ने उनले जानेका छन् । अहिले पनि उनी पैसाकै आधारमा चर्चित छन् । उनको जति धन कसैले पनि खर्च गर्न सक्ने अवस्था छैन । यो कुरा अख्तियारलाई पनि थाहा नभएको होइन । तर, अहिले नै उनीमाथि कारबाही चलायो भने उज्यालो नेपालका अभियन्ताविरुद्ध लोडसेडिङका पक्षपातीहरु लागे भनेर प्रचार हुने भएकाले अख्तियार उनको शक्ति क्षीण हुने समयको पर्खाइमा छ ।