• काठमाडौं : नेपालले सिंगापुर विरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । जिलेस्पी जंग कार्कीको एक मात्र गोलमा नेपालले जित निकाल्न सफल भएको हो ।

    सिंगापुरको सिंगापुर नेशनल स्टेडियममा शुक्रबार साँझ भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले फिफा वरियतामा १५ स्थान माथि रहेको सिंगापुरलाई १(० ले पराजित गरेको हो ।

    नेपालका लागि जिलेस्पीले खेलको १२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । मनिष डाँगीको क्रसमा जिलेस्पीले पेनाल्टी बक्समा वान टच गोल गरेका हुन् ।

    त्यसपछि पनि नेपालले खेलमा गोल गर्ने मौका पाएको थियो तर सदुपयोग भएन । सिंगापुरले घरेलु मैदानमा बराबरी गोल फर्काउने लगातार प्रयास गरे पनि सफल भएन ।

    सिंगापुरले अन्तिमतिर लगातार आक्रमण गरे पनि नेपाली डिफेन्स र कप्तान तथा गोलकिपर किरणले बचाएका थिए ।

    एफसी एसियन कप छनोट अन्तर्गत मलेसिया विरुद्धको खेलअघि नेपालले तयारी स्वरुप सिंगापुर विरुद्ध मैत्रीपूर्ण खेल खेलेको हो । यसअघि नेपालले सिंगापुरलाई हराउन सकेको थिएन ।

    तीन अफिसियल खेलमा नेपाल सिंगापुरसँग पराजित भएको थियो भने नेपालमा भएको सिल्भर जुब्ली कपमा नेपाल र सिंगापुरले बराबरी खेलेको थियो ।

    नेपालले अब एसियन कप छनोटमा मार्च २५ मा मलेसियासँग उसैको मैदानमा खेल्नेछ ।